पवित्र गोद्धकनाथ तथा पाँचपाण्डव – परिचय, आकर्षण र महत्व

चितवनको सदरमुकाम भरतपुरबाट दक्षिणतिर गीतानगर, पटिहानी हुँदै सुन्दर राप्ती नदीको मनोरम दृश्य र विश्व सम्पदा सुचीमा सुचीकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्जको चित्ताकर्षक दृश्यमा आफूलाई हराउँदै उत्तरवाहिनी रेवानदी हुदै ३३ कि.मी. पार गरेपछि गर्दी गा.वि.स.को सेरूवा गाँउमा पुग्न सकिन्छ । उक्त स्थानमा अवस्थित श्री रा.प्रा.वि. सेरूवाको खेलमैदानको दक्षिणी भागमा रहेको ग्राभेल बाटोबाट करीब २ कि.मी. पश्चिममा धार्मिक हिसाबले अति पवित्र र प्राकृतिक हिसाबले अति सुन्दर गोद्धक क्षेत्र प्रवेश गर्न सकिन्छ । माडी आफैमा अति धार्मिक महत्व बोकेको स्थान हो, जहाँ अनेकौं देवी देवताका स्थानहरू र कुण्डहरू रहेका छन् भने परापूर्व कालमा ऋषिमूनीहरू तथा सिद्धपुरुषहरूले सिद्धी प्राप्तीको लागी यसै भूमीलाई प्रयोग गर्ने गरेको हाम्रा धर्मग्रन्थहरूमा उल्लेख पाईन्छ भने प्राकृतिक हिसाबले स्वास्थकर हावापानी, छहरा र खोच कन्दरहरूले सिंगारेको छ माडीलाई ।

यहाँका मठ मन्दिरहरूमा अनेकौं श्रद्धालु भक्तजनहरूको दैनिक रुपमा आवागमन तथा दैनिक पूजा आजा सबैजसो महिनाहरूमा हुने गर्छ, त्यसमाथि विशेष पर्वहरूमा मठ, मन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । यस्तै ठूलो धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौं भक्तजनहरू उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्व कालदेखिको इतिहास छ ।

पौराणिक व्याख्या अनुसार त्रेतायुगमा परशुरामले मातृ हत्या गरेपछि सो पापबाट मोक्ष हुन पवित्र स्थानको खोजी गदै हिँड्ने क्रममा त्रिवेणी धाम बाल्मीकी ऋषिसँग भेट भयो र बाल्मीकी ऋषिको सल्लाहले उनि यस पवित्र भूमिमा आई देवता खोलाको शिरभागमा रहेको कुण्डमा स्नान गरी त्यसै नदीको केहि तल किनारमा अष्टभूज शिवलिड्डको स्थापना गरी पूजा गर्दै गर्दा मातृहत्या जस्तो जघन्य पापबाट मुक्त भएको र परशुराम नुहाएकोले परशुराम कुण्ड नाम रहेको जनविश्वास छ । श्री रामले सिता मातालाई त्याग गर्दा पनि यसै देवता खोलाको किनारमा छोडेको र सिता माता शिव मन्दिर माथि खोला किनारमा रहेको गुफामा रुदै विलौना गरेकोले सो गुफाको नाम सिता गुफा रहन गएको, सोही समयमा सिता माताको रक्षार्थ कुकुरनाथ, विरालनाथको उपस्थिति रहेको र सिताजीको रोदन सुनेर वाल्मीकी ऋषि आई आफ्नो आश्रममा लगि संरक्षण दिएको, लवकुश जन्म भै सकेपछि अश्वमेध यज्ञमा छोडिएको घोडा लवकुश खेल्दै आउँदा उत्तर वाहिनी रेवा नदीको किनारबाट समाती वाल्मीकी आश्रम लगि बाँधेको इतिहास हाम्रा धर्म ग्रन्थमा पाइन्छ । त्यसैगरी द्वापर युगमा पाण्डवहरू यसै क्षैत्रमा आई वनवास बसेका र पछि गुप्तवास बस्न विराटनगर गई छद्म भेषी रुपमा वसेको अवस्थामा विराट राजाका गाईहरू लुटेर कौरव पक्षले यसै मार्गबाट हस्तिनापुरमा लैजादै गर्दा अर्जुन विरण्डलाको रुपमा यहाँ आई जहाँ गोद्धक मेला लाग्ने गर्छ । यसै मैदानमा घमासान युद्ध गरी विराट राजाका गाई छुटाएको स्थान भएकोले गाइको लागी गरिएको युद्ध “गो युध्दक” बाट अपभ्रंस भै गोद्धक नाम रहन गएको धर्म शास्त्रहरूमा व्याख्या पाइन्छ ।

यसरी हेर्दा यस्तो पवित्र धार्मिक क्षेत्र गोद्धक जहाँ मातृहत्या जस्तो पापबाट पनि परशुराम मोक्ष भएका थिए र पाण्डवहरूको वनवास काल व्यत्तित भएको थियो । परशुराम कुण्डको स्नान, पाण्डवहरूको दर्शन, अष्टभुज शिवलिड्डको दर्शन पुजाआजा र यस क्षेत्रको यात्राले हामीलाई आत्मीक ज्ञान, धर्म प्राप्त भै मरणोपरान्त स्वर्गलोकको वास र यस लोकमा धन, यश, मान, प्रतिष्ठा, शुख, शान्ती, समृद्धि प्राप्त हुने जनविश्वास छ ।

रामनवमी बाहेक यस स्थलमा, शिवरात्री, बालाचतुर्दशी र श्रावण महिना गरी श्रद्धालु भक्तदजनहरूको घुइचो लाग्छ । लामो समय बस्ने गरी आउने भक्तजनको लागी वास बस्न शिवलिड्ड मन्दिरसँगै सत्तलको व्यवस्था छ भने अन्य यात्रीहरू पाण्डवनगर गाँउमा रहेका होमस्टेहरूमा आनन्दमय वातावरणमा रहन सक्ने व्यवस्था पनि छ । रेवा नदीको पुलबाट देखिने सूर्यास्त र द्रौपदी नगरबाट देखिने सुर्योदयले हरेक नागरिकलाई आकर्षण गरी रहेको हुन्छ । त्यसमाथि अति धार्मिक महत्व बोकेको यस गोद्धक क्षेत्रको यात्रालाई शान्ती, धर्म र सिर्जनाको यात्राको रुपमा लिदै एक पटक दर्शनको लागि पर्दापण गर्न तथा यस क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्न सम्पूर्ण श्रद्धालु भक्तजन तथा महानुभावहरूमा गर्दी पर्यटन विकास समिति तथा गोद्धक क्षेत्र व्यवस्थापन समिति हार्दिक अपिल गर्दछ ।

यस क्षेत्रका मुख्य धार्मिक मठ मन्दिर एवं कुण्ड तालहहरू :

  • परशुराम कुण्ड
  • सिता गुफा
  • कुकुरनाथ विरालनाथ
  • अष्टभुज जोडी शिवलिड्ड
  • भिमसेन मन्दिर
  • द्रौपति ताल
  • गोद्धकनाथ

– प्रदीप महतो, बिआईसी ल्याब, ध्रुव माडी (आभार : पर्यटन विकास समिति गर्दी)

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु