आदिवासी थारू समुदायमा जीतिया पावनी (पर्व) र झम्टा नाँच

नेपालमा आदिवासीका रूपमा चिनिने थारू जातिको आफ्नै मौलिक सँस्कृति छ वा भनौं थारु समाजमा मनाइने चाड पर्व, रीतिरीवाज र परम्पराहरुका कारण थारु सम्प्रदाय सँस्कृतिमा धनी मानिएको छ । त्यसअन्तरगत थारू महिलाहरूले मनाउने विशेष पर्वलाई थारू भाषामा जीतिया पावनी भनिन्छ । यस पर्व थारु समाजको प्रथम चाड हो । यस चाडको आठ दिनपछि यमोसा (पितृ औंशी) आउँछ । यसको दश दिन पछि दशैं (दसइ), सोह्र दिनपछि सोहराई (तिहार), एघार दिन पछि हरिबोधिनी एकादशी आउँछ भने खिचरा (माघे सक्रान्ती) पछि आउने फगुवा (फागुपूर्णिमा) सबैभन्दा अन्तिम चाड मानिन्छ । जीतिया पावनी खासगरी असोज महिनाको कृष्णपक्षको अष्टमी तथा महालक्ष्मी व्रत समाप्तीका दिन मनाइन्छ ।

यस पर्वको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ । त्यस दिन सबैजसो माछा मार्न जाने र बेलुका अनन्दी चामलको चिचर (लट्टे) बनाएर माछा र चिचर खाने चलन छ । अथवा त्यस दिनलाई “स्नान गर्ने दिन” (लहा खाइ) भन्ने पनि गरिन्छ । त्यस दिन बेलुका आ– आफ्नै गाउँमा मादक पदार्थ (रक्सी/जाँड) र चिनी उठाउने गरिन्छ । खाना खाइसकेपछि रातभरी झम्टा नाच नाच्ने गरिन्छ । गीत गाउने र नाच्ने मान्छेहरु रक्सी र सर्वत खाने गर्छन् । झम्टा नाच नाच्दै कुखुरा बासेपछि दर (डटकट) खाने र दर खाइसके पछि बसेर गीत गाउने प्रचलन छ । त्यसलाई ‘बदहा गावे’ (बसेर गाउने गीत) भन्ने गरिन्छ, जसमा झम्टा जस्तो नाच नाच्नु पर्दैन । बसेर एक ठाउँमा समूह समूह बनाई दुई टोलीले गीत गाउँछन् । यो, झम्टाको गीत भन्दा अलि भिन्न किसिमको गाउने गरिन्छ र अलिक भावुक किसिमको गीत गाइन्छ जुन गीतको मर्म, वेदना र व्यथा थारु समाजका नारीहरुमा हुन्छ । साँच्चै भन्ने हो भने यो चाड थारु महिलाहरुको मर्म, पीडा, वेदना र व्यथालाई अन्त्य गरी सुखी, आनन्दी, दीर्घायू बनाउने तथा सुपुत्रको चाहना एवं श्रीमानको दीर्घायूको कामना गर्ने दिन पनि हो । र यसैमा विश्वास गरेर हालसम्म थारु समाजमा बडो धुमधामका साथ जितिया पर्व मनाउदै आइरहेका छन् ।

अर्को दिन बिहान महिलाहरु एक ठाउँमा जम्मा भएर ‘बेलापाती लोह्रे’ (बेलको पात) टिप्नु भन्दा अघि बेलरुखको वरिपरी झम्टा नाच नाची सकेपछि बेलको पात ल्याएर ‘जीतवाहनको कथा’ सुन्ने ठाउँमा राख्छन् । उपवासको विहान र वेलुका खोलामा नुवाई धुवाई गर्छन् । बेलुका माटोको चिल्होसेह्रो भन्ने दिदी–बहिनीको कथा, जसले मृत्युलोकमा आउने वाचा गरेकोले मूर्ति बनाएर पकडीको हाँगा वा पिपलको हाँगामा कथा सुनिन्छ । कथा सुन्न आउने महिलाहरुले केरा, सखरखण्ड, दही, चिउरा र विभिन्न किसिमका फलफूलहरू लिएर आउँछन् । कथा सुनिसकेपछि आफूले लिएका फलपूmल १/२ वटा कथा भन्ने मान्छेलाई दिन्छन् र त्यसपछि आ– आफ्नै घरमा गएर फलाहर गर्छन् ।

भोलिपल्ट महिलाहरू मिलेर कथा सुनेको सामाग्रीहरु नदीमा लगेर फ्याँक्ने गर्छन् । नुहाई–धुवाई गरेर ‘पारन’ गर्ने गर्छन् । पारन गर्दा कटहर वा केराको पातमा धानको लावा अथवा केरा चिउरा राखेर ‘पारन करो–करो’ भनि सकेपछि मात्र भात खाने गरिन्छ । नुहाई धुवाई गर्न जाँदा नदीमा गाईको दूध अथवा चामलको दुध लिएर ‘गौर गंगा’ एक जोडी नदीमा मूर्ति बनाएर पूजा गरिन्छ ।

यस पर्वसंग जोडिएको एक किंवदन्तीका अनुसार मसवासी भन्ने नाम गरेकी एक अविवाहित महिला थिइन । स्वभाविक रुपमा उनको छोराछोरी नभएका कारण सन्तान प्राप्तका लागि विष्णु भगवानसँग प्रार्थना गरिछन् । प्रार्थनाबाट बिष्णु खुशी भएपछि त्यस अविवाहित महिला गर्भवती भईन र एक पुत्र जन्माइन् । जसको नाम ‘जीतवाहन’ राखियो, जसले लडाँई समेत गरी हरेक कार्यमा सफलता प्राप्त गर्दथ्यो । जीतवाहन सूर्यको पुत्र पनि भन्ने गरिन्छ । त्यसैले थारु समाजमा महिलाहरू जो निसन्तान छन्, उनीहरू (पति र पत्नी) दुवैले ‘खर जीतिया’ बस्ने गर्छन् । विवाहित महिलाहरू सुख, शान्ति एवं श्रीमानको दीर्घायूको कामना गर्ने गर्छन् । यो चाड ३ दिन सम्म मनाउने गरिन्छ । यस चाड अवधीभर महिलाहरू नयाँ र रङ्गीविरङ्गी कपडाहरू लगाउने गर्छन् । धर्म–कर्म अनुरुप पाप हराएर पुण्य कमाउनुको निमित्त पनि ‘पावनी रहल’ (उपवास बसेर सबै कार्य गर्नु) गर्ने गरेको पाईन्छ । जुन मान्छेहरू धर्मप्रति विश्वास तथा आस्था राख्छन्, त्यस महिलाहरूमा पर्वप्रति बढी झुकाव रहेको पाईन्छ र थारू संस्कृति अनुरुप झम्टाको नाच तथा गीतहरू प्रस्तुत गरिन्छ ।

स्नान गर्ने दिनमा मास भिजाएर राख्छन् र बेलुका ‘जीत वाहनको कथा’ सुन्न जाँदा मासमा टुशा पलाएको हुन्छ । त्यसलाई ‘जावाकुरी’ भनिन्छ । कथा सुन्दा छर्ने काम गरिन्छ । अर्कोदिन मास भुटेर खाने गरिन्छ । पकडीको हाँगा टिप्न जाँदा त्यहाँ पनि झम्टा नाच गर्छन् र त्यसपछि रुखको छेउमा बसेर गीत गाउने गर्छन् ।

आजकलका थारू महिलाहरू यो पावनी विस्तारै छोड्दै गएको स्थिति देखिन्छ । झम्टाका गीतहरू पनि गाउन तथा अध्ययन एवं जानकारी लिन पछि परिरहेको स्थिति देखिन्छ । फेरिपनि आफ्नो संस्कृतिको जगेर्ना एवं संरक्षण गर्न केहि थारु अग्रणीहरु भने सक्रिय छन् । विभिन्न खालका प्रतियोगिता एवं सहभागितामूलक कार्यक्रममा थारू संस्कृतिहरूको झलक देख्न पाइन्छ । यस सन्दर्भमा हामी आफैले आफ्नै संस्कृतिको संरक्षण एवं सम्वद्र्धनका लागि एकतावद्ध भई लाग्नु आवश्यक छ भने नेपालमा गणतन्त्र स्थापना पश्चात विभिन्न खालका भाषाभाषीहरूको संस्कृति र भाषागत पहिचानको लागि राज्य पक्षले टेवा दिनु नितान्त जरुरी देखिन्छ ।

– सी.एम. अपिल चितौने (chitaunecm@gmail.com)

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु