बरुवास्थित दुग्ध चिस्यान केन्द्रका प्रमुख दिनेश यादव सम्पर्क विहीन

दुग्ध विकास संस्थान अन्तरगत माडीको बरुवामा सञ्चालित चिस्यान केन्द्रका प्रमुख दिनेश यादव सम्पर्क विहीन भएका छन् ।

हिँजो (बुधबार) बिहान करीब ३ः३० बजेबाट सम्पर्क बिहीन भएका उनको दिनभर तथा गएरातीसम्मै खोजी गर्दापनि फेला पार्न नसकिएको माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । मोटो जीउज्यान भएका, गहुँगोरो वर्णका, कपाल फुलेका, घाँटीमा रुद्राक्षको माला लगाएका यादव बिहान घरबाट भागी सम्पर्क बिहीन भएका हुन । घरबाट भाग्दै गर्दा यादवले हाफ पाइन्ट मात्रै लगाएका थिए भने र खुट्टामा जुत्ताचप्पल केहि पहिरिएका थिएनन् ।

राती करीब ११ः३० बजे चिस्यान मेसिन बन्द गरी सुत्न गएका यादवले आफूबाट ‘ब्लण्डर’ भएको सुनाउँदै श्रीमतीलाई गोजीमा भएको पैसा र मोबाइल थमाएर बाहिरिन खोजेका थिए । तर श्रीमती एवं चिस्यान केन्द्रका कर्मचारीले बुधबार बिहान २ः३० सम्म केन्द्र अगाडिको चौतारीमा बसी कुराकानी गरी यादवलाई सुत्न फर्काएका थिए । मानसिक औषधी समेत खानेगरेका यादव त्यसपश्चात केहि बेर सुतेर पुनः उठी घरबाट बाहिरिएका हुन् ।

यादवलाई दिनभर स्थानीय प्रहरी र जनप्रतिनिधीहरुले भैरवपुर, गर्दी र वरपरका सबै क्षेत्रहरुमा खोजी गरेको भएपनि यो समाचार प्रकाशित गर्दासम्म भेटिएका छैनन् । सामान्यतः जंगली जनावरहरु रहने भैरवपुरको काँसघारी र रीउ नदी वरपरको झाडीहरुमा खोज्न बाँकी रहेको र त्यो क्षेत्रमा आज बिहानैदेखि हात्तीको प्रयोग गरी उनको खोजी गरिने वडाध्यक्ष पौडेलले जनाउनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु