“प्रहरी जिवन, कथा र ब्यथा”

प्रकाश अधिकारीः चितवन, माडी

६ बर्ष भयो मैले मेरो कर्तब्यलाई अनुशासित भएर पूरा गर्न थालेको । नेपाल प्रहरीको जागिरमा कर्तब्य निभाईरहदा परिवार प्रतिको कर्तब्य चाहिँ भुलिरहेको हुन्छ । आखिर मेरो कर्तब्य घरमा पैसा पठाउनु मात्र त होईन । घरिघरी सोच्छु, म मात्र त होईन नि म जस्ता धेरै छ्न । हाकिमको बोली भुईमा खस्न नपांउदै काम गर्न तम्सिहाल्ने बानिले पनि दिक्दार लाग्न थालेको छ अचेल । न सेवा न सुबिधा महिनाको थोरै रासनले यो खिरिलो ज्यान दिनरात नभनी दौडी रहेको हुन्छ । भोक प्यास निन्द्रा डर अनि परिवार प्रतिको जिम्मेवारी । अरु त अरु शौचालय जाने फुर्सद समेत नहुने कहिलेकाहीँ त । यो बाटो मैले नै रोजेको हो तलब को लागि मात्र म यो बाटो हिंडेको पनि होईन । देशको लागि केहि गर्छु भन्ने अभिलाषका साथ हिँडेको एउटा युवक हुँ ।

२४ सै घण्टा खटिरहँदा पनि सुबिधा केही छैन, परिवार कसरी चलाउने ? न त एक्लो जिवन जिउन तलब नै पर्याप्त छ एउटा परिवार चलाउन को लागि पुग्छ । हप्ता वा महिना त कुरै छोडौँ चाड्पर्वमा समेत छुट्टी मिल्दैन यो कस्तो सेवा हो ? चाडपर्वमा आफ्नो परिवार साथीसङ्गी सङगै बसेर मिठो मसिनो खाएर रमाईलो गर्ने रहर आखिर कस्लाई नहोला र ? के हाम्रो व्यत्तीगत जिवन छैन ? के हामीलाई पनि आफ्नो परिवार र आफन्तहरुसंग खुसी साट्ने अधिकार छैन ? यो मेरो व्यक्तीगत धारण होइन, शब्द मेरो होलान् तर आवाज सबैको हो । कसैले सबैकुरा मनभित्रै दबाएर राख्छन् त कसैले यो परिवेश अन्त्यको लागि निर्धक्क भएर आवाज उठाँउछन् ।

सिमा मिचियो, देश को रक्षा गर भनेर आउदा समेत अाफ्नै नेपालीहरूलाइर् लाठी चार्ज गर्नु पर्छ, हस्पिटल ले राम्रो सेवा गरेन भनी अावाज उठाउनेहरूलाइ गोलि हान्नु पर्छ, कस्तो सेवा हो यो ?
जस्को लागि कसम खाएक छाैँ उसैलाई लाठी हान्नु पर्छ कस्तो सेवा हो यो ? सत्ता शक्ति को सेवा कि रोजि रोटि को सेवा ??

हामी सुरक्षाकर्मीहरु, जसको लागि दिन रात नभनी खटिराछाैँ उनिहरु नै क्रुर छ्न हामी सङ्ग । एउटा लौरो को भरमा रात कटाउनुको पीडा । लौरो कै भरमा बन्दुकधारिको सामना गर्नुपर्ने पिडा जोसुकै ले कहाँ बुज्न सक्छ र ? र जस्ले बुज्छ्न उनिहरु बुझपचाउछ्न । न आँफै बोल्न मिल्छ न अरु बोलिदिन्छ्न कस्तो परिबन्ध हो यो ? सबै कुरालाई गाठो पारेर मनभित्र राखी काममा गयो काम गर्दागर्दै मर्छ जोस जाँगर त्यो तनाबपुर्ण परिस्थीती देख्दा । अनि परिवारले सान्त्वना सिवाए केही पाउदैनन् । राज्यले यतिधेरै उपहास गर्छ कि हामी राज्यका कुनै अङ्ग नै हाेइनौ, यस्तै यस्तै अनौपचारिक बिग्रह मानसिक तनाबले म जस्ता धेरै प्रताडित हुन्छौ ।

अझै सत्ता शक्तिमा पहुँच नभएकै कारण भोग्नु पर्ने हैरानी त छँदै छ । यति हुदाहुँदै पनि पैसा नै सर्वाधिक होईन । “यो काम त सेवाको हो, देशको लागि महत्वपुर्ण योगदान हो” अग्रज हरुको यहि युक्तीले मनलाई हौसाई रहन्छ । तर पुण्य कमाउनकै लागि सबैको गाली सुनेर बस्दा अनि परिवार नै आफूसङ्ग असन्तुष्ट हुँदा कहिलेकाही मन पोलेर आउँछ । सायद हामीजस्ता सम्पुर्ण साथिहरुको परिवारलाई पनि लाग्दो हो आस, कि आफ्नो छोरा÷छोरी सरकारी जागिरे छ टन्न पैसा कमायर पठाँउनेछ घर । यस्तै यस्तै ।

सामान्य मान्छेले पनि रक्सिले मातिएर आउछ्न डर देखाउन, यसरी कि म उसकै घर्को धनमाल चोरेर चोक मा उभिरहेको छु । अनि म सङ्ग आत्म रक्षाका लागि एउटा सिठ्ठी हुन्छ अनि समय मध्यरात को १२ बजे । हामीजस्ता सोझासाझा र आफ्नै क्षमताले नियुक्ती भएकाहरुको त झन् विना कसुरु जागिर खाईदिने देखि सरुवा सम्मका धम्की आउँछ । कहिले मन्त्रीका मान्छेको त कहिले अरु नेता, कहिले भने आफ्नै हाकिम । धेरैजसो भइरह्न्छ यस्तो सामान्य लाग्न थालीसक्यो अचेल । हुन त अरु पनि छन म सरहका कर्मचारी जसले आफ्नो कर्तब्य र खाएको सफतलाई विर्सेर पैसाको लागि देशको अभिमान बेचे । जसको यहि अवधिमा कति घडेरी थपिए त केहि घरका तल्ला थपिए । हामीले प्रहरिले राम्रो सेवा गरेन जिम्मेवारी पूरा गरेन राम्रो काम गरेन भनेर हजारौ चोटि भनी रहदा कहिल्यै सोचेका छौँ सकल दर्जा का प्रहरी कसरी गुजृरहेका छ्न ? कसरी बाचेका छन् ?

एकातिर लोकतन्त्र अनि गणतन्त्रका भाषण घन्किरहन्छन अनि बर्ग संघर्षको नारा अनि अर्कोतिर अनुशासनको नाम मा राणाशासन लादिन्छ । सत्ता शक्ति र पैसाको भरमा आँफू भन्दा सिनियरलाई कमाण्ड गर्ने कस्तो अनुशासन को नारा हो यो जुन हरेक दिन बिहान साझ घन्कने गर्दछ । यसरि नै गधालाई झै जिम्मेवार्को भारी लाद्ने अनि प्रोत्सान बिनै एकोहोरो लदाउने हो भने एकदिन घोडाले झै भारी फालेर दौडिन बाध्य हुन्छ्न हामीजस्ता हजारौँ प्रहरी साथीहरु । हजारौ को संख्यामा बर्ग सङघर्षका नारा बोकेर अनि फेरि उहीँ १० बर्ष कष्टकर समाज जस्तो अर्को दर्शौ बर्ष पछाडी धकेलिन बाध्य हुनेछ देश ।


इद्दपी, सबै कुराको पोकोलाई एकातिर बिसाएर, कुकुर को पनि दिन आउँछ भन्छ्न । हामी त मान्छे हो भन्दै कुदिरहेछु आफुलाई मात्र धावक सुचिमा पारेर र पर्खिरहेछु त्यो दिन जुन दिन हामीजस्ता दिनरात देशको सुरक्षामा निरन्तर खटिरहने राष्ट्रसेवकहरुको प्रोत्साहन संगै कार्यसम्पादनको निश्पक्ष उच्च मुल्याङकन हुनेगरि एक ठोस निर्णय पारित हुनेछ नेपाल सरकार बाट । (फाेटाे साभारः गुगल)
–प्रकाश अधिकारी, चितवन, माडी

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु