गोद्धक मेलामा अन्तरमाडी भलिबल र खुला फुटसल प्रतियोगिता आयोजित

माडीका गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा आयोजित चैतेदशैं गोद्धक मेलामा अन्तरमाडी भलिबल र खुला फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आसन्न चैत २८ देखि आगामी बैशाख १ गतेसम्म हुन लागेको चैतेदशैं गोद्धक मेलाको अवसरमा माडी नगरपालिका वडा नं. १ खेलकूद समितिको आयोजनामा अन्तरमाडी भलिबल प्रतियोगिता तथा द ब्वाईज युनियन द्रोपदीनगरको आयोजनामा खुला फुटसल प्रतियोगिता सञ्चालन हुन लागेको हो । भलिबल र फुटसलका लागि टीम दर्ता शुल्क क्रमशः रु १५०० र १००० रहेको छ । अन्तरमाडी भलिबल प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कार क्रमशः रु २० हजार र १० हजार रहेको छ भने खुला फुटसल प्रतियोगिताको विजेता एवं उपविजेता टोलीले पुरस्कारस्वरुव १/१ वटा खसी पाउनेछन् । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले चैत २८ गतेभित्रमा टीम दर्ता गर्नुपर्ने मेलाको बजार व्यवस्थापन संयोजक अमित लामाले जानकारी दिनुभयो ।

रामनवमी गोद्धक मेलाको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी गायक मिलन लामा, बिन्दा परियार र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । गोद्धक मेला भर्न आउने श्रद्धालु भक्तजनहरुलाई परशुराम कुण्डसम्म सहज रुपमा पुगी स्नान गर्ने वातावरण मिलाउन गोरेटो बाटोलाई स्तरोन्नती गरिएको छ । गोद्धक मेला भर्न माडीसंगै देशका विभिन्न गाउँ र छिमेकी देश भारतबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गरेका छन् । गोद्धक मेला व्यवस्थापन समिति माडी नगरपालिका १ र २, चितवनद्वारा आयोजित सो मेलाको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु