सोमेश्वरगढी चैतेदशैं मेलाको तयारी तीब्र, मन्दिरमा रंगरोगन र खानेपानी जडान

नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको सोमेश्वरगढीमा सुरु हुन लागेको चैतेदशैं मेलाको तयारी स्वरुप सोमेश्वर कालीका मन्दिरमा रंगरोगन र खानेपानीको व्यवस्था गरिएको छ । सोमेश्वरगढी मेला व्यवस्थापन समिति, माडीको आयोजनामा आउँदो चैत्र २२ गतेदेखि सोमेश्वर क्षेत्रमा मेला तथा साँस्कृतिक उत्सवको आयोजना गरिएको छ ।

सो मेला तथा साँस्कृतिक उत्सव अन्तरगत दिवा तथा रात्री भजनकीर्तन, प्राचीनकालिन सम्पदा एवं पुरातात्वीक महत्वका विभिन्न बस्तुहरुको अवलोकन, माडीसंगै चितवन उपत्यका र भारतीय क्षेत्रको दृश्यावलोकन, गुफा, ढुङ्गे डुङ्गा, पातालगंगा र सीमास्तम्भहरुको अवलोकन लगायतका विशेषता रहेको मेला आयोजक समितिका संयोजक पिताम्बर पोखरेलले जनाउनुभयो । मेलास्थलमा नेपालको सशस्त्र एवं जनपद प्रहरीले सुरक्षा दिने र मेलास्थलमा मदिराजन्य पदार्थहरुको बिक्रीवितरण पूर्णतः प्रतिबन्धित रहने समेत मेला आयोजक समितिले जनाएको छ ।

मेलामा नेपालीसंगै भारतीय दर्शनार्थी र श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । यसपटक माडीको बसन्तपुरदेखि छरछरे हुँदै सोमेश्वरगढी क्षेत्रस्थित पातालगंगा भनिने ठाउँसम्म चारचक्के गाडी चल्नसक्ने बाटो बनेका कारण सोमेश्वरगढीमा झनै धेरै दर्शनार्थीहरु पुग्ने पूजा व्यवस्थापन समितिले अपेक्षा गरेको छ । सोमेश्वरगढी क्षेत्रको पर्यटकिय पुर्वाधार विकासको लागि खानेपानी, शौचालय, सत्तल, सिँढी, विश्राम स्थल लगायतका संरचनाहरुको निर्माण कार्य समेत जारी रहेको माडी नगर पर्यटन विकास समितिका संयोजक पुरन महतोले जनाउनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु