नेपाल विद्युत प्राधिकरणद्वारा माडीका भित्री गाउँहरुमा बिद्युत प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले माडीका भित्री गाउँहरुमा बिद्युत प्रवाह सुरु गरेको छ । आज फागुन १२ गतेबाट माडीका विभिन्न गाउँहरुमा रहेका १२ वटा ट्रान्सफर्मर चार्ज गरिएको माडी बिद्युत सेवा केन्द्रका प्रमुख आनन्द कुँवरले जनाउनुभयो ।

आज माडी नगरपालिका वडा नं. ८को चौकीडाँडा, वडा नं. ७ को दिवानगर र बाउनडोरी, वडा नं. ६ को स्याउलीबास, कीर्तनपुर कार्कीचोक र लक्ष्मीनिवासको मन्दिर चोक तथा वडा नं. ५ को ढिकुरबारीमा रहेका ट्रान्सफर्मरमा बिद्युत चार्ज भएको हो । त्यसैगरी माडी नगरपालिका वडा नं. ४ को खैरहनी चोक र शितलपुर, वडा नं. २ को भैरवपुर तथा वडा नं. १ को अम्बाबास र बनकट्टा बोटेटोलमा रहेका ट्रान्सफर्मरहरुमा पनि बिजुली पठाइएको हो । आज चार्ज गरी परीक्षण गरिएका १० वटै ट्रान्सफर्मरहरुले राम्रो काम गरिरहेको प्राधिकरणले जानकारी दिएको छ । ट्रान्सफर्मरहरुमा ११ हजार भोल्टको हाइ टेन्सन लाइन तानिएको हो । घरमा वितरण हुने २३० भोल्टको लाइन बिस्तार गर्ने क्रम भने अझै जारी नै रहेको छ ।

यसैबिच, माडीको भित्री गाउँहरुमा बिजुली वितरणका लागि ठेक्काको प्रक्रिया पुरा भई काम सुरुवात भएको छ । करीब ६ करोड २५ लाख लागत रहेको सो परियोजना अन्तरगत पोल नपुगेका थप ठाउँहरुमा पोल गाड्ने र ११ हजार किलो भोल्टको एल.टी. पुगेका ठाउँका ट्रान्सफर्मरबाट घरघरमा बिजुलीको लाइन बिस्तारको काम हुने नेपाल बिद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु