थारु लोक साहित्य र उखान टुक्का सम्बन्धमा चन्द्रमणी महतो

थारु जति नेपालको एक आदिवासी जाति हो । जातिय पहिचान भएको थारु जतिको साँस्कृतिक पक्ष उच्च रहेको पाइन्छ भने लोक साहित्यमा पनि उत्तिकै धनी भएको पाइन्छ । रहन–सहन, खानपिन, रीतिरीवाज भिन्न विशेषता बोकेको थारु जातिको मौलिक लोक साहित्य, चाडपर्व तथा गीतहरु खोज अनुसन्धान गर्दा वृहद अनि विशिष्ठ भएको महसुस गर्न सक्छौं ।

भाषाको कलात्मक अभिव्यक्ति साहित्य हो र यो समाजको दर्पण पनि हो । भाषाकै साहित्यिक माध्यमबाट जातिय भावना र मर्म तथा सुख–दुःख र अन्तरवेदना मुखरित हुन्छन् । थारु भाषामा साहित्यका विधाहरु, जस्तै: उखान टुक्का (आहान), गाहा (गीति प्रश्नोत्तर), बुझोली (बुझेर उत्तर दिनु), पेहनी (गाउँ खाने कथा) बालगीत तथा बालकथाहरु, साँस्कृतिक गीतहरु, लोक कथाहरु, सोरठी बृजभार र महाभारतका कथाहरु आदि थारु लोक साहित्यभित्र व्याख्या गरेको पाइन्छ । धार्मिक नाटक तथा गीति नाटकका रुपमा ‘रामझुमरी’लाई लिन सकिन्छ, जसमा रामायणका कथावस्तु वृत्तान्त गरेको पाइन्छ ।

थारु भाषाका केहि उखान टुक्काहरु :
१. ‘जबजब हरनक उठास तबतब कुकुराक मुतास । (जबजब राती तब बुढी ताती ।)
२. जनी मर्दाक झगडा, बिचमा बोलले लबरा । (लोग्ने स्वास्नीको झगडा, परालको आगो ।)
३. बनराक बुते गेरारु खाई ? (बाँदरको हातमा नरिवल ।)
४. काम करेके एगुणा, खाएके दोसर जना । (काम गर्ने कालु, मकै खाने भालु ।)
५. मारे चतुरे फेणियामा गुह लग्सई । (काग बढी बाठो भयो भने आची खान्छ ।)
६. यब्बर देखले हेपई । (जो सोझो उसको मुखमा घोचो ।)
७. बिना पदले ओसने बसेतई ? (हावा नचली पात हल्लिन्न ।)
८. गहुँवाक साँङे जौं पिसेसई । (गहुँसंगै घुन पिसिन्छ ।)
९. यखुतैले बैंरी पवतई ? (आत्तिएर काम हुन्छ ?)
१०. भिजल भेगवाक लागल काछ, टङणियामा घाउ वडई ओकरे लाथ । (नाँच्न नजान्ने आँगन टेंढो ।)
११. लुहुलुहु विरुवाक लुहुलुहु पात । (हुने विरुवाको चिल्लो पात ।)
१२. यापन यन्कर यगुणे सम्झेके । (आफ्नो र अर्काको एउटै सम्झनु ।)
१३. घरक राजा बनक स्यार/गिदार । (घरको राजा बनको स्याल ।)
१४. जुने चोर ओकरे जबणे गर । (जो चोर उसकै ठूलो स्वर ।)
१५. काकर खिसी मकरामा । (एउटाको रिस अर्कै मान्छे ।)
१६. इच्के जीउक मन्से । (सानो चित्त भएको मान्छे ।)
१७. हाथी चले बजार, कुकुर भुके हजार । (काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ ।)
१८. डैनिक जीउ मैनीमा । (आफ्नो गल्ती छ भने पहिले नै तर्सनु ।)
१९. टेणाटेणी हेराहेरी । (एकले अर्कालाई देखाउनु ।)
२०. मारे डरे कचुवाक पतवाम जीउ जेसई । (अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ ।)

थारु भाषाका उखान टुक्काहरु खसगरी मौखिक रुपमा वा बोलिचालीको भाषामा प्रयोग भएको पाइन्थ्यो भने हाल आएर थारु भाषाको लिखत रुप विकास हुने क्रममा यी उखान टुक्काहरु लिखित स्वरुपमा प्रयोग हुने गरेको पाइन्छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु