नेपाल मगर विद्यार्थी संघ, माडी नगर समितिद्वारा आजदेखि फरक स्वरुपको देउसी भैलो सुरुवात

नेपाल मगर विद्यार्थी संघ, माडी नगर समितिले आज बुधबारदेखि फरक स्वरुपको देउसी भैलो सुरुवात गरेको छ । स्वदेश एफ.एम.को स्टुडियो नं. १ तथा सम्पर्क कार्यालय भवन, बसन्तपुरमा आज मध्यान्ह १२ बजे विशेष देउसी भैलो गरी संघले माडीव्यापी देउसी भैलो अभियान सुरुवात गरेको हो ।

स्वदेश एफ.एम.का अध्यक्ष देव ‘अञ्जान’ शाह, प्रवन्ध निर्देशक अपेक्षा चौधरी र बसन्तपुर बजारका स्थानीय व्यवसायी र बजारबासीहरुको सहभागितामा आज देउसी सुरुवात गरिएको थियो । देउसीको स्वदेश एफ.एम.ले प्रत्यक्ष प्रसारण गरेको थियो । देउसीबाट संकलित रकमबाट मगर सामुदायिक भवन निर्माण गर्ने उद्देश्य राखिएको जिल्ला मगर साँस्कृतिक संघका सदस्य मोहन आलेमगरले जानकारी दिनुभयो ।

यसैबिच, माडीको बरुवा बजारमा राधाकृष्ण मन्दिरको निर्माणमा सघाउन रेवेश्वर शिव मन्दिर धार्मिक सेवा समितिले देउसी भैलो कार्यक्रम जारी राखेको छ । मंगलबार बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खेलिएको देउसी भैलो कार्यक्रमबाट ५८ हजार २३० रुपैँया नगद र १५ बोरा सिमेन्ट संकलन गरेको समितिका सचिव गंगा भुसालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु