थारु भाषाको प्रयोग र भाषिक अधिकारहरुबारे चन्द्रमणी महतो

नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक देशको रुपमा चिनिन्छ । यहाँ विभिन्न जातजातिहरुले बसोबास गर्दै आइरहेका छन् । नेपालमा १२६ वटा भाषाहरु बोलीमा प्रचलित छन् । त्यस मध्ये ६८ वटा भाषाहरुको आ-आफ्नो मौलिकता जस्तै, लेखाई, पढाई र बोलाई रहेको पाईन्छ । यहाँ अवधी, कुम्हाल, कुसुन्डा, कोचे, खस, गुरुङ, चेपाङ, छन्त्याल, जिरेल, झाँगर, तामाङ, थकाली, थारु, थामी, दुनुवार, दूरा, धिमाल, नेवार, व्यासी, भितल, भोजपूरी, मगर, माझी, मेचे, मैथिली, राई, राउटे, राजवंशी, लिम्बू, लेम्चा, लोबा, शेर्पा, सतार, सुनुवार, हायू, आदि जस्ता ६० भन्दा बेसी जाति जनजाति बसोबास गर्दछन् । यी जाति जनजाति सबैको आ-आफ्नो मातृभाषा छ, त्यसकारण नेपालमा स्वभावतः बहुभाषा बोलिन्छ । तर, नेपाल जस्तो बहुभाषा बोलिने मुलुकमा पनि यहाँका शासकवर्गले एउटा जाति विशेषको भाषा खस भाषालाई नेपाली भाषाको संज्ञा दिई राष्ट्र भाषा घोषणा (नेपालको संविधान २०१५ देखि जारी) गर्दै आएको सर्वविदित छ । यसरी शासकवर्गले एक विशेष जातको भाषालाई विशेष अधिकार उपयोग गर्न दिएर अन्य जाति जनजातिका भाषाहरुलाई उनीहरुको जनतान्त्रिक अधिकारबाट वञ्चित गराएको छ । यहाँसम्मा कि खस बाहेक अन्य जतिका जनतालाई अड्डा, अदालत र शैक्षिक संस्थाहरुमा आ-आफ्नो मातृभाषा प्रयोग गर्न मनाही गरिएको छ । यसरी कानुनद्धारा नै अन्य जाति जनजातिका भाषाहरुका जनतान्त्रिक अधिकार माथी कुठाराघात गरिएको छ ।

विभिन्न जाति जनजातिहरुको आ-आफ्नो भाषा अस्तित्वमा रहँदा रहँदैपनि भाषाको प्रयोग, विकास र सम्बर्धन गर्नुपर्ने देखिन्छ । त्यस मध्ये थारु भाषा पनि आफ्नो अस्तित्वमा देखिएता पनि यस भाषको विकास र सम्बर्धन गर्न निःतान्त आवश्यक छ । नेपालको पूर्वदेखी पश्चिमसम्मको थारु भाषामा एकरुपता नदेखिए पनि आ-आफ्नो किसिमले भाषाको विकस र जगेर्ना कार्यमा लागेको देखिन्छ । थारु भाषाको लिपि नभएपनि देवनागरिक लिपीमा थारु भाषा लेख्ने गरिन्छ । अहिलेको परिप्रेक्ष्यमा भु–मण्डलीकरणले समाज र राष्ट्रलाई प्रभावित पारिरहेको स्थिति छ भने अर्को तिर २१ औं शताब्दीमा बहुभाषाहरुको ज्ञान र प्रयाग सिक्न र जान्नुपर्ने उतिकै आवश्यकताको रुपमा सृजना भएको परिस्थिति छ ।

थारु भाषालाई नेपाली र अंग्रेजी भाषाले प्रभावित गरिरहेको छ । थारु भाषा बोल्ने प्रयासहरु घट्दो मात्रामा छन् । नेपालमा गणतन्त्र स्थापना भएपश्चात राज्य पक्षबाट केहि प्रयत्नहरु भने भएको छ । उदाहरणको रुपमा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा साप्ताहिक रुपमा विभिन्न जातजातिहरुको भाषाको लेख तथा रचनाहरु प्रकाशित हुने कुराले पनि भाषा विकास तथा सम्बर्धनमा टेवा दिने काम भएको छ । सर्वप्रथमतः हामी सबैले आफ्नो मातृभाषको बोलिचालीको भाषामा प्रयोग गर्नुको साथै लेख, रचना, खोज, अनुसन्धान, साहित्य सिर्जना र प्रकाशन कार्यलाई अगाडि बढाउनुपर्ने देखिन्छ । थारु भाषाको विकास र सम्बर्धन गर्ने हो भने थारु भाषाका विविध पक्षहरुलाई समेटेर उजागर गर्नुपर्ने देखिन्छ । थारु भाषाको विकास र सम्बर्धनका लागि थारु भाषाको शब्दकोष गोपाल दहितले लेखिसक्नुभएको छ र धन्यवादको पात्र हुनुहुन्छ । त्यसैगरि कृष्णराज सर्वहारीले थारु भाषाको संयोजन तथा सम्पादन गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा गर्नुको साथै थुप्रै थारु भाषाको पत्रिकाहरुको सम्पादकत्व र थारु भाषा साहित्य सृजना गरिसक्नु भएको छ । उहाँ थारु भाषाको पहिलो उपन्यास ‘फुटल करम’का लेखक पनि हुनुहुन्छ । थारु भाषाको विकास र सम्बर्धनमा ठूलो योगदान गरेवापत राज्यबट क्षेत्रिय प्रतिभा पुरस्कार २०६७ द्वारा सम्मानित भइसक्नु भएको छ । संस्थागत विकासको लागि सामुहिक कार्यले मात्र थारु भाषाको विकस र सम्वद्र्धनमा टेवा पुराउन सकिन्छ ।

चितवनको सन्दर्भलाई हेर्दा २०१६ सालमा ‘जितवाहनको कथा’ प्रकाशन भएको थियो । २०४० सालमा सन्तराम महतोको सक्रियामा ‘फुन्गी’ प्रकाशन भएको थियो । २०४६ सालमा थारु संस्कृतिक पत्रिका प्रकाशन भएको थियो । २०५५ सालमा ‘चितौने थारुको परिचय’ निलकुमार चौधरीले प्रकशन गर्नु भएको थियो । २०५८ सालमा यस लेखका पंक्तिकार चन्द्रमणि महतोको सक्रियतामा ‘हमार सनेस’ पत्रिका प्रकाशनको सुरुवात भएको थियो । २०६० सालमा दोस्रो अकं पनि प्रकशित भएको थियो । अन्य पत्रिकाहरुमा सुकदेव चौधरीको सक्रियतामा ‘समाद’ समाचारमूलक थारु पत्रिकाले राम्रो प्रभाव देखाएको थियो । ‘डोभार’ पत्रिका एक अंक मात्र प्रकाशित भएको छ । २०६५ सालमा लक्ष्मण प्रसाद चौधरीको सक्रियतामा थारु भाषाको पाठ्यपुस्तक तयार गरि जिल्ला शिक्षा कार्यालय, चितवनबाट स्वीकृत प्राप्त गरि २ वटा प्राविहरु (रा.प्रा.वि. गर्दी, माडी र रा.प्रा.वि. निपनी, पूर्व चितवन)मा लागु गरिएको थियो तर विविध कारणले यो कार्यलाई निरन्तरता र प्रवाभकारी ढंगले अगाडी बढाउन सकिएको स्थिति छैन । डाक्टर राउतले चितौने थारुको साँस्कृतिक र भाषिक पक्षहरु को बारेमा शोधपत्र तयार गर्नुभएको छ । प्राध्यापक डा. गोपल प्रशाद खरालले थारु भाषामै विद्यावारिधी गरी हाल थारु भाषाको शब्दकोश प्रकाशनको तयारीमा लाग्नुभएको छ भने प्राध्यापक कृष्ण पौडेलले चितौने थारुको व्याकरण शीर्षकमा एम.फिल. गर्दे हुनुहन्छ । एक प्रगतिशील लेखक डि. आर. पोखरेलले थारु भाषा तथा साहित्य संस्कृतिबारे फुटकर लेख तथा रचनाहरु लेख्नुका साथै चितौने थारु गुरौहरुको भेला गराई परम्परागत ज्ञान र सीपहरुको बारेमा छलफल र गोष्ठी गराएर महत्वपूर्ण कार्य सम्पन्न गर्नु भएको छ । विन्दुकुमारी चौधरीले चितवनमा प्रचलित थारु लोककथाहरुको संकलन र वर्गिकरण शीर्षकमा शोधपत्र तयार गरिसक्नु भएको छ ।

पञ्चायतको प्रवेशले नेपाली खस भाषालाई अरु द्रुत गति दिएको थियो । यसले द्रुतगतिमा विकास गर्ने दुई कारण छन् । एक, सरकारी संरक्षण र दुई, खुदै जनजातिमा यो भाषा बोल्ने बाध्यता (नयाँ शिक्षाको नेपालीकरण) र यस्तो एक भाषालाई राष्ट्रभाषा मानेर अन्य भाषाहरुलाई आफूमा आत्मसात गराउने वा दबाउने सरकारी नीति एकदमै प्रतिक्रियावादी नीति हो । यस्तो नीतिले राष्ट्रिय एकता र राष्ट्रियता बलियो हुदैन, अझ कमजोर हुन्छ र विभिन्न भाषाभाषी, जातिहरु र वर्गहरुबिचमा विरोध, तनाव र सघर्ष नै बढ्छ । सोभियत संघको ऐतिहासिकि अनुभवले पनि बताएको छ कि जारशाही रुसले पछि परेको मध्य एसियाका जनजातिका भाषाहरुलाई दबाउन जति कोशिस गरेपनि आखिर नाकाम सिद्ध भयो । आखिर त्यहाँका जनताहरुले आफ्नो अधिकार लडेर लिए । आज हिन्दुस्तानमा हिन्दी र पाकिस्तानमा उर्दु भाषालाई राष्ट्रभाषाको मान्यता दिलाउन त्यहाँका सरकारहरु पनि अग्रसर हुँदैछन्। यसबाट बुझिन्छ कि प्रतिक्रियावादी शक्तिहरु जहाँ पनि एक भाषाको अस्तित्वलाई स्वीकार्छन् । तथाकथित जनतान्त्रिक उदारवादीहरु भने सबै भाषाको विशेषाधिकारलाई स्वीकार्दछन् । तर शासक वर्ग, जातिबाट राष्ट्रभाषा, माध्यम भाषा, साझा भाषा आदिको रुपमा भाषालाई विशेषाधिकारलाई स्विकार्दा उनीहरु यो कुरो बुझ्दैनन कि उनीहरु सिद्धान्ततः कहाँ उभिएका हुन्छन् । होइन भने उनीहरु नै भनुन् कुनै एक भाषालाई वा कुनै पनि कुरालाई विशेषाधिकारको रुपमा स्वीकार गरेपछि अन्य भाषा वा अन्यकुराको समान विकास कसरी सम्भव होला? रुसका उदारवादीहरु जो आफूलाई जनवादी भन्दथे, लेनिनवादीहरुको रुसीकरणको विरोधको विरुद्धमा थिए । उनीहरुको मुखपत्र रुस्कोमो स्लोबोले एक पल्ट लेखेको थियो, रुसीकरणको विरोधीहरु पनि यो कुराको सम्भवतः इन्कार गर्दैनन् कि रुस जस्तो विशाल देशमा एक सरकारी भाषा हुनु आवश्यक छ र त्यो भाषा रुसी नै हुनुपर्दछ ।

लेनिनले कुनै एक भाषाको मात्रै होइन कुनै पनि प्रकारको विशेषाधिकार विरोधी हुनुहुन्नथ्यो । त्यसैले उहाँले उदारवादीहरुको उक्त तर्कलाई उल्टो पाल्टो भनेर उडाउनु भएको छ । उहाँले भन्नु भएको छ हत्केला जत्रो साना स्वीट्जरल्याण्डलाई कुनै हानी भएको छैन, बरु फाइदा नै भएको छ कि त्यहाँ एउटा होइन तीन तीन सरकारी भाषाहरु जर्मन, फ्रेन्च र इटालेली छन् । त्यहाँ जर्मन भाषी ७०, फ्रान्सिली २२ र इटाली ७ प्रतिशत छन् । लेलिनको यसै उदाहरणबाट पनि थाहा पाइन्छ कि विविध भाषा र नीति भएर पनि स्वीट्जरल्याण्डको राष्ट्रिय एकता टुक्रिएको छैन, बरु मजबुत भएको छ ।

चीनमा हान जाति ९४ प्रतिशत भन्दा बेसी छन् । त्यहाँ तिब्बती जस्तो एकदमै अल्पसंख्यक जातिको भाषाले पनि फुल्ने मौका पाएको हामीले देखेका छौ । तर नेपालमा हिन्दु धर्म सँस्कृती र नेपाली खस भाषा बाहेकका अन्य कुनै पनि धर्म सँस्कृती वा भाषाले सरकारी संरक्षणमा हुर्कन पाएको छैन । भाषिक अधिकारको प्रश्नलाई हेर्दा संविधान सभाको निर्वाचन पश्चात विभिन्न राजनैतिक दलहरु र नेताहरुले बहुभाषीहरुको संरक्षण र सम्र्वद्धनमा विशेष अधिकार नयाँ बन्ने संविधानमा उल्लेख गरिनेछ भनेर बडो आर्दशका भाषणहरु गर्दै हिड्थे । संविधान घोषणा जारी गर्ने २४ दिन अगाडि पनि पछाडि पारिएका जाति जनजनतिका अधिकारहरु सुनिश्चित गरिनु पर्छ भन्ने कुरामा एक ठाउँमा आउन सकेनन् । फलस्वरुप सविधान सभा भंग भएसंगै जाति जनजातिका सपनाहरु चकनाचुर पार्ने काम गरे । वास्तवमा विभिन्न जाति जनजानिहरुलाई सिंढी बनाएर सविधान सभाको नामा अरबौं खरबौं रुपैंयाको राष्ट्रिय ढुकुटी रित्याउने काम गरे । नेपालकै इतिहासमा नराम्रो छवि बनाए । समय र परिस्थिति अनुरुप नेपालका राजनैतिक दल र नेताहरु परिवर्तनशील हुन नसकेकै कारणलेनै संविधान सभाको भंग भई देशको स्थिति अन्धकारतर्फ धकेलिइरहेको आजको परिस्थिति सृजना भएको हो ।

थारु भाषालाई संवृद्ध भाषाको रुपमा विकास र सम्वर्धन गर्नु हामी सबैको कर्तव्य र जिम्मेवारी हो भन्नुमा अतिशयोक्ति नहोला । राज्यको निकायसँग अन्य भाषा सरह अध्ययन अध्यापन कार्यलाई अगाडी बढाउन सुत्रबद्ध गरी अगाडी बढ्नुपर्ने जरुरी छ । आफ्नो भाषा र आफ्नो पहिचानको संरक्षण आफैले गर्नुपर्ने हुन्छ ।

– लेखक थारु साहित्यिक पत्रिका ‘हमार सनेस’का कार्यकारी सम्पादक तथा शोमेश्वर मा.वि. बरुवाका शिक्षक हुनुहुन्छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु