चितवन राष्ट्रिय निकुञ्जका कारण माडीवासीहरु संधै पीडामा

नेपालको ७६ औं जिल्लाको रुपमा परिचित चितवन, स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य आर्कषणको केन्द्र बनेको छ । चितवन राष्ट्रिय निकुञ्ज यसका लागि ठूलो बरदान सावित भएको छ । चितवनका सौराहा र मेघौली क्षेत्रका स्थानिय बासिन्दालाई यो अनुपम उपहार भएको छ । तर त्यही चितवन भित्रको माडी उपत्यकाको लागि भने विषालु सर्प बनेको छ । त्यसैले माडीका युवाहरुको विचारमा निकुञ्जका जनावरहरुले राप्तापारी डलर खसाइरहँदा रिउवारी गोबर झारिरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्को संरक्षण र संबद्र्धनका लागि माडीबासीले स्थापनाकाल देखि नै ठूलो त्याग गरेका छन् । उनीहरु विकासका पूर्वाधारहरुबाट बञ्चित हुनु पर्दा समेत दुःखी थिएनन् । उनीहरु चितवन राष्ट्रिय निकुञ्ज, माडीको काखमा रहेकोमा हर्षित थिए । तर आज भोली ती हर्ष विस्तारै आँशु र आक्रोशमा बदलिन खोज्दै छ । जसलाई देवता मानी पुज्यो उही नै विनासको बाटोमा लागे पछि कसको चित्त दुख्दैन र ?

आपूmले आधा पेट खाएर पालेका चितवन राष्ट्रिय निकुञ्जका जनवारले माडी क्षेत्रको मानव वस्तीमा आएर दिउँसै आतंक मच्चाउन थालेका छन् । गतबर्ष जेठ ३ गते कल्याणपुर स्थित हरिनगर मध्यवर्ती सामुदयिक बनमा दिउँसो एक बजे बाघको अक्रमणबाट कल्याणपुर ४ बस्ने २९ वर्षिय सुर्य प्रसाद पौडेल गम्भीर घाइते भए । उनलाई बाघले पछाडीबाट खुट्टामा आक्रमण गरी घाइते बनाएको थियो । त्यसैगरी जेठ २ गतेका दिन चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका गर्दी ४ पाण्डवनगरका २४ बर्षीय जितेन्द्र बोट भालुको आक्रमणमा परी गम्भीर घाइते भएका थिए । यी त माडीवासीले भोग्नु परेका केही पीडा दायक घटनाका प्रतिनिधी मात्र हुन् । विगतमा ध्रुबेहात्तीको आतंकले थपिएको पीडा अनि दर्जनौं नागरिकहरुले ज्यान गुमाउनु परेको तीतो बिगत माडीले बिर्सन सक्दैन । जंगली जनावरहरुका कारण भएका गाइबस्तु चौपायाको विनाशको किस्सा त झन कति छन् कति । अझ त्यसमाथि बर्षभरी अन्नको जोहो गर्न लगाइएको खाद्यान्न तथा नगदेबालीहरु चितवन राष्ट्रिय निकुञ्जकै हात्ती, गैंडा, जरायो, मृग लगायतका जनावरले खाने र नष्ट गरिदिने पीडा बिर्सिनसक्नु छ ।

पीडा माडीक्षेत्रमा मात्रै सीमित छैन । चितवन राष्ट्रिय निकुञ्जले सीमा साँधेका अन्य मध्यवर्ती क्षेत्रहरुमा समेत जंगली जनावरको आक्रमणमा परी हताहती र बालीनालीको विनाश निरन्तर चलिरहेको छ । भर्खरैमात्र गीतानगर गाविसमा बाघको आक्रमणमा दुईजनाको दुःखद निधन र एकजना गम्भीर घाइते भएको समाचार प्रकाशमा आएको छ । हातहतियारले सुसज्जित नेपाली सेनासमेत जंगली जनावरको आक्रमणमा मरिरहँदा निशस्त्र, असङगठित अनि कमजोर मानिसहरु मारिनु अस्वभाविक होइन । तर जंगली जनावरको संख्यात्मक बढोत्तरीमा हाम फालेर लागेको निकुञ्ज प्रशासनका लागि यो महान सफलताको सुचक बनिरहेको छ ।
मध्यवर्ती क्षेत्र ऐनमा भएको व्यवस्था अनुसार बन्यजन्तुको आक्रमणमा परि ज्यान गएमा रु तीन लाख दिने र घाइते बनाएको हकमा अलिकति चारो फालिदिने व्यवस्था गरिएको छ । तर क्षतिपुर्ती पाउनका लागि पीडितहरुले दोब्बर पैसा र महिनौंको दौडधुप तथा भनसुन गर्नुपर्ने अवस्था रहिआएको छ ।

निकुञ्जको कारण मुलतः माडीवासीले आवतजावतमा समस्या खेपिरहेका छन् । भरतपुर देखि माडीको एकोहोरो बस यात्रामा कसरा र बनकट्टा पोष्ट दुई ठाउँमा र ठोरीसम्म पुग्ने हो भने बगाईं र अमुवा पोष्ट समेत गरी चारवटा स्थानमा चेकिङको झण्झट व्यहोरिरहेका उनीहरु आफ्नै गाउँघर पुग्न सुबिधाप्राप्त बाटोमा जंगल प्रबेश कर तिर्न बाध्य भइरहेका छन् । बसको छतमा समेत चढेर यात्रा गर्न बाध्य उनीहरु चेकिङको नाममा पचास किलोमिटरको दुरी पार गर्दा चारपटक झर्नु र चढ्नुपर्ने बिडम्बनाबाट मुक्त छैनन् । शाही शासनको दौरान देशभर थोपरिएको संकटकालमा सडक यात्रा गर्दा नेपालीहरुले पाएको पीडाको निरन्तरता माडीले आजपनि पाइरहेको छ । यो सबै त्यही चितवन राष्ट्रिय निकुञ्जको कारण हो ।

माडी र आसपासका क्षेत्रहरुले चितवन राष्ट्रिय निकुञ्जको आम्दानी नपाएका भने होइनन् । निकुञ्जको कुल आम्दानीको पचास प्रतिशत यसआसपासका मध्यवर्ती क्षेत्रहरुमा खर्च हुने गरेको पनि छ । तर त्यो रकम यति न्युन छ कि आम उपभोक्ताहरुमा त्यसले कुनै सद्भाव उब्जाउन सकिरहेको छैन । क्षती र राहतको अनुपात यतिधेरै असमान छ कि कोही मानिस जीबनभर अशक्त हुनेगरी घाइते हुँदा सामान्य उपचार समेत गर्न भ्याउँदैन । समस्या र पीडाका पक्षहरु अन्य कयौं छन् र दैनन्दिन आइपरिरहेका पनि छन् ।

चितवन राष्ट्रिय निकुञ्जको संरक्षण नेपाली सेनाले गरेको होइन, बरु माडीवासी र यसको आसपासका उपभोक्ताहरुले गरेका हुन् । बासीवासी र निकुञ्ज आसपासका मानिसहरुको साथबिना निकुञ्जको संरक्षण अधुरो र अपुरो हुनेछ । त्यसैले अबका दिनमा निकुञ्ज प्रशासन र निकुञ्ज व्यवस्थापनमा सरोकार राख्ने हरेक निकायहरुले निकुञ्ज प्रभावित क्षेत्रका मानिसहरु र मुख्यतः निकुञ्जले घेराबन्दी गरेको माडीबासीसंग सहयोगात्मक, रक्षात्मक र भावनात्मक साझेदारी गर्नु अत्यावश्यक छ ।

– नेत्र प्रसाद आचार्य, सामुदायिक रेडियो माडी, चितवन

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु