स्कुलबस र मोटरसाइकल ठोकिँदा माडीकाे बसन्तपुरमा एकजना घाइते

माडी नगरपालिका –६, बसन्तपुर, आँखा अस्पताल अगाडी भएको सवारी दुर्घटनामा अाइतबार एकजना घाइते भएका छन् ।

बसन्तपुरबाट कल्याणपुर जाँदै गरेको ना.३ ख. ४१६७ नम्बरको स्कुलबस र कल्याणपुरबाट बसन्तपुरतर्फ आउँदै गरेको ना. ३५ प. ४०२५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालक माडी नगरपालिका वडा नं. ७ निवासी बर्ष ४७ का कृष्ण बहादुर बि.क. घाइते हुनुभएको हो । घाइते बि.क.लाई बघौंडा अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको छ । घाइतेको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा बच्चा सहित तीनजना सवार रहेकोमा अर्का एक महिला र एक बालक सकुशल रहेका छन् ।

स्कुल बस, मोटरसाइकल र बसका चालकलाई इलाका प्रहरी कार्यालय, माडीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भीक आँकलन रहेको छ । मोटरसाइकलको भाइजर र सकर लगायत अगाडीको भाग क्षतीग्रस्त छ । स्थानीयबासीले भने मुलबाटोमा पिच साँघुरो भएकोले दुर्घटना बढेको प्रतिक्रिया दिएका छन् ।

यसैबिच, ईलाका प्रहरी कार्यालय माडीले स्कुल स्कुलमा प्रहरी अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत ट्राफिक चेतना र सवारी दुर्घटना न्यूनिकरणका लागि तथा यौनजन्य अपराध र लागु औषध दुव्र्यसनीको बिरुद्ध सचेतनामुलक कार्यक्रम गर्ने अभियानका रुपमा स्कुल स्कुलमा प्रहरी अभियान सञ्चालन गरेको हो । सो अभियान अन्तरगत आज माडीको जनकल्याण माध्यमिक विद्यालय र भैरवपुर आधारभूत विद्यालय, भैरवपुरमा सचेतनामुलक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । प्रहरी नायव नीरिक्षक उमेश कोइरालाको कमाण्डमा चारजना प्रहरीहरुको टोलीले अभियान सञ्चालन जारी राखेको हो । अभियान भदौ २५ गते सुरु भएकोमा आउँदो असोज २५ गतेसम्म गरी एक महिना सञ्चालनमा रहने प्रहरी नायव नीरिक्षक कोइरालाले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु