सम्झनाको क्यानभासमा माडीका शहीद तिलक खाती ‘विहानी’

तिलक खाती (माडी ब्रह्मपुरीका जनयुद्धकालीन शहीद) को मृत्युको खबर पाएको त्यो रात अझ पनि मेरो मानसपटलमा ताजै छ । त्यो रात माडीबाट एक्कासी आमाको फोन आएको थियो । मलाई यति राती आमाले केहि विशेष कामले नै फोन गर्नुभयो होला भन्ने लागेको थियो, किनकि माडीमा आजकल जस्तो घरैपिच्छे र व्यक्तिपिच्छे फोन तथा मोबाइलको सुविधा थिएन । केहि सिमित पसलहरुमा मात्र फोनको सुविधा थियो र त्यसको लागि पनि घण्टौ लाइनमा बस्नुपथ्र्यो । त्यसैले आमा–बुबाले विशेष काम बाहेक अरु अवस्थामा त्यति फोन गर्नुहुदैनथ्यो । त्यो रात आमा फोनमा मसंग बोल्न खोज्नुभयो । जब मैले फोनको रिसिभर लिएर आमाको कुरा सुने तब म आमाको कुराले एकदमै मर्माहित भए । आमाले “बाबु, तिलक मामाको त हत्या भयो” मात्र के भन्नुभयो, म छाँगाबाट खसेझैं भएँ ।

तिलक मामासंग मेरो सम्बन्ध मामा र भाञ्जाको भन्दा अझ प्रगाढ थियो । यहाँ म कमरेड तिलक खाती ‘विवश’ वा ‘बिहानी’ को कुरा गरिरहेको छैन किनभने यो बिषयमा मलाई भन्दा उहाँलाई कमरेड बनाउनेहरुलाई बढी थाहा छ । यहाँ म मेरो मामा तिलक खातीको कुरा गरिरहेको छु । उहाँ नातामा मेरो मामा पर्नुहुन्थ्यो । उहाँसंग मेरो भेट माडीस्थित हाम्रो पसल (शिवजी सुनचाँदी पसल, बसन्तपुर)मा भएको थियो । त्यतिखेर म बुबालाई भेट्न नारायणगढबाट माडी गएको थिए । उहाँ हाम्रो पसलमा काम सिक्न बस्नुभएको थियो । हेर्दा ज्यादै दुव्लो पातलो देखिने उहाँलाई जब बुबाले नातामा मामा पर्ने भनेर चिनाउनु भयो तब देखी हाम्रो मामा–भाञ्जाको सम्बन्ध अगाडी बढ्यो । प्रत्येक पटक माडी जाँदा उहाँसंग मेरो भेट हुँदै गयो र त्यहाँ केहि समय बस्दा उहाँसंग हिमचिम बढ्दै गयो । केहि समयपछि म फेरि माडी गएँ, त्यतिखेर उहाँ माडी कलेजमा पढ्दै हुनुहुन्थ्यो । माडी कलेजको भवन बनिसकेको थिएन, कलेजले माडी माध्यमिक विद्यालयको भवनमा विहान अध्ययन गराउँथ्यो । माओवादीको जनयुद्ध चलिरहेको थियो । त्यसै क्रममा पसलमा बुबाको कुराकानी सुन्दा मामा तात्कालिन भुमिगत पार्टी नेकपा (माओवादी)को विद्यार्थी मोर्चामा आबद्ध भएको थाहा भयो र दिनदिनै चितवन राष्ट्रिय निकुञ्जका सेनाले क्याम्पसमा आएर मामालाई खोज्दा उहाँ कसरी भाग्न सफल हुनुभयो भन्ने कुरा मैले थाहा पाएँ ।

मामा ११ कक्षाको परीक्षा दिन नारायणगढ स्थित हाम्रो घरमा बस्न आउनुभयो । हाम्रो घरमा मामा बस्नुहुँदा उहाँसंगको मेरो सम्बन्ध अझ बढी प्रगाढ भयो । उहाँलाई अझ नजिकबाट चिन्ने अवसर प्राप्त गरें । पढाईमा तीक्ष्ण बुद्धि भएको उहाँ राती तीनैबजे उठेर परीक्षाको तयारी गर्नुहुन्थ्यो । उहाँले परीक्षाको पुस्तक संगसंगै माक्र्स, एंगेल्स, माओ, लेनिन र स्टालिनको फोटो भएको पुस्तक ल्याउनु भएको थियो । त्यो समयसम्म मलाई ती तस्वीरहरु कस्का हुन भन्ने थाहा थिएन । उहाँले मलाई ती तस्वीरका व्यक्तित्वहरु बारेमा बताउनुभयो । मैले स्टालिनको फोटो केहि आर्कषक देखि उहाँलाई त्यसको बारेमा सोधें । उहाँले स्टालिन लेनिनको साथी भएको कुरा बताउनुभयो । उहाँलाई मैले स्टालिन कस्तो व्यक्ति थिए भनेर सोध्दो माक्र्स, एंगेल्स, माओ र लेनिन भन्दा केहि खराब व्यक्ति भएको बताउनुभयो । मेरो भर्खर किशोर अवस्थाको दिमागले त्यो भन्दा बढी बुझ्न सकेन । मैले उहाँले ल्याउनुभएको ‘बसाँइ’ उपन्यास पढ्ने कोसिश गरें तर त्यो भ्याउन मलाई कठीन प¥यो । उहाँले मलाई सारंशमा यति सरल भाषामा त्यो बुझाईदिनुभयो कि धेरैपछि म कलेजमा आफूले त्यो उपन्यास पढ्दा पहिल्यै पढिसकेको महसुस भयो । मैले परीक्षाको लागि वाक्य वाक्य घोकेको देख्दा उहाँले सरसर मनन गरेर पढनुपर्ने वताउनुभयो । केहि समयको बसाईपछि उहाँ माडी फर्कनुभयो । त्यसको केहि महिना लगत्तै पहिला रोकिएको एउटा बिषयको परीक्षा दिन फेरि नारायणगढ आउनुभयो । त्यतिखेर उहाँले आफू जनसेनामा जान लागेको बताउनुभयो । जनसेनामा गएर त्यस्तो दुब्लो मान्छेले भारी बन्दुक बोक्न सक्छौ भनेर आमा एवं काकीले सोध्दा हिम्मत भएपछि सकिने कुरा बताउनुभयो ।

त्यसको केहि समय पछि मामा जनसेनामा जानुभयो भन्ने खबर पाएँ । उहाँले समय समयमा हाम्रो घरमा फोन गरिरहनु हुन्थ्यो । आफु मंगलपुर फुलबारीतिर रहेको कुरा बताउनुहुन्थ्यो । एकपटक उहाँ फेरि हाम्रो घर आउनुभयो । त्यस समय म उहाँसंग साइकलमा घुम्न निस्किएँ । हामी घुम्दै दियालो बंगलातिर जादै थियौं, तब त्यहाँ थुप्रै सैनिकहरु बसेको देखें । मेरो मनमा चिसो पस्यो, ‘कतै मामालाई माओवादी हो भन्ने चिनेर सेनाले समात्ने त होइन र म पनि यसमा पर्ने त होइन’ । मैले उहाँलाई घर फर्कन आग्रह गरे । म डराएको देखेर उहाँ हाँस्नुभयो र भन्नुभयो “धत् भाञ्जा किन डराएको, तिनीहरुले हामीलाई के गर्छन् र ?” तर मैले एकदमै कर गरेपछि उहाँले साईकल फर्काउनुभयो । हामी घरमा पुगेपछि बल्ल मेरो मन शान्त भयो । घरमा हजुरबुवाले पनि उहाँलाई इन्डिया जाऊ, म त्यसको व्यवस्था गरिदिन्छु भन्नुभयो तर मामाले त्यसलाई अस्वीकार गरिदिनुभयो ।

त्यसपछि लामो अन्तरालसम्म उहाँ र मेरो भेट भएन । एकदिन मामा केहि साथीहरु लिएर हाम्रो घर आउनुभयो । त्यसमध्ये एउटाको हात भाँचिएको थियो । उनीहरु मामासंगै हतियार बोक्ने जनसेनाहरु रहेछन् । देशमा संकटकाल लागेको थियो । दिनहुँ साझ पर्न नपाउदै कफ्र्यूं लाग्ने गथ्र्यो । दिनदिनै समाचारमा मान्छे मरेको खबर आइरहन्थ्यो । मामाले एक्कासी त्यत्रो साथी ल्याउँदा हामी डरायौ तर आएको पाहुनालाई बस्न र खानको व्यवस्था ग¥यौ । त्यो समय माओवादी भन्ने बित्तिकै त्रासको अवस्था थियो । माओवादीहरुको टाउकोको मुल्य तोकेको समाचार नेपाल टेलिभिजनबाट आईरहन्थ्यो । उहाँसंग मेरो छुट्टै कुरा गर्ने अवसर मिलेन । तर आमा र काकीहरुसंग उहाँले आफ्ना भोगाईहरु सुनाउनुभयो । आफू भित्ताको आढेस लागेर उभिँदै सुतेको बताउनुभयो । मामासंग यो नै मेरो अन्तिम भेट हुनपुग्यो । त्यसको केहि समयपछि उहाँलाई सेनाले भीडन्तको क्रममा समातेर निर्ममता पूर्वक हत्या गरेको कुरा आमाले फोनमा भन्नुभयो । त्यो रात मलाई धेरैबेर सम्म निंद्रा परेन । त्यसको केहि रातसम्म म राम्रोसंग सुत्न सकिन ।

एउटा गरीब तथा दलितको छोराको अन्त्य भयो । एउटा निडर र साहसी युवाको देहवसान भयो । घरको कमाउने उमेरको छोराको मृत्यु भयो । देशमा गणतन्त्रसंगै तात्कालीन जनयुद्ध हाँकेको नेकपा (माओवादी) वर्तमान अवस्थामा देशको सबै भन्दा ठूलो पार्टी हुँदै पटक पटक सरकारको नेतृत्व गरिसकेको छ । अवश्य पनि त्यसका निम्ति मैले मेरो असल मामा गुमाएको छु भने अरुले आफ्ना छोरा, छोरी, आमा, बावु, पति, पत्नी आदि गुमाएका छन् । फेरिपनि देशमा सोचे जस्तो परिवर्तन भएको छैन । लगातार सरकार परिवर्तन भइरहन्छ, नेताहरु सत्ताको लागि हानथाप गरिरहेका छन् । के मेरा मामा जस्ता शहीदहरुले दिएको प्राण आहुतिको सम्मान हुन सकेको छ ? यो प्रश्न ती नेताहरुलाई, जसले मेरो मामा जस्ता नवयुवाहरुलाई कमरेड बनाएर युद्ध मोर्चामा होमिन लगाएका थिए ।

– अमृत रामदाम, नारायणगढ

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु