चितवनमा दुबै गठबन्धनका उम्मेदवारहरु बाहेक अन्य सबैको जमानत जफत

चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेकाहरु बाहेक अन्य सबै उम्मेदवारहरुको जमानत जफत भएको छ ।

देशभरमा झैं चितवनमा पनि नेपाली कांग्रेस, रा.प्र.पा. (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टी लोकतान्त्रि गठबन्धनमा तथा एमाले, माओवादी केन्द्र र जनमोर्चा बाम लोकतान्त्रिक गठबन्धनमा जोडिएर चुनाव लडेका थिए । यी दुई गठबन्धनमा आवद्ध पार्टीहरुका अलावा नेकपा माले, संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा पार्टी तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी स्पर्धामा उत्रिएका थिए ।

मंसिर २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा चितवन जिल्लामा ९५ जनाले उम्मेद्वारी दिएका थिए, जसमध्ये १८ जना बाहेक सबै उम्मेद्वारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । जमानत जफत हुनबाट जोगिन कम्तीमा सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । तर गठबन्धन बाहेकका उम्मेद्वारले १० प्रतिशत मत प्राप्त गर्न सकेनन् । जमानत जफतबाट जोगिन चितवन क्षेत्र नं.१ मा कम्तीमा ८ हजार मत कटाउनु पर्दथ्यो भने क्षेत्र नं.२ मा ७ हजार र क्षेत्र नं.३ मा ९ हजार मत कटाउनुपर्ने बाध्यता थियो ।

चितवन क्षेत्र नं.१ मा एमालेका सुरेन्द्र पाण्डे ५१ हजार ८० मतका साथ विजयी हुँदा उनका निकटम प्रतिद्धन्द्धीले नेपाली काँग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३ सय ६० मत ल्याए । यस्तै क्षेत्र नं.२ मा एमालेका कृष्णभक्त पोखरेल ४४ हजार ६ सय ७० मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्धन्द्धी काँग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे । यसैगरि क्षेत्र नं.३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४८ हजार २ सय ७६ मतका साथ विजयी हुँदा उनका निकटम प्रतिद्धन्द्धी राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत प्राप्त गरे ।

चितवनमा कुल ३ लाख ५४ हजार ३६ मतदाता रहेका थिए । क्षेत्र नं.१ मा ८९ हजार ७ सय ५२, क्षेत्र नं.२ मा ७७ हजार ३ सय ६६ र क्षेत्र नं.३ मा ९३ हजार ८ सय १३ सदर मत प्राप्त भएको थियो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु