आर्थिक संकट र नाकाबन्दीबिरुद्ध लड्न भेनेज्वेलामा कृत्रिम मुद्रा

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले मुलुकको आर्थिक संकटलाई सहज पार्ने प्रयत्नमा नयाँ कृत्रिम मुद्रा (भर्चुअल करेन्सी) ल्याउने घोषणा गरेका छन् । भेनेजुएलाको तेल, ग्यास, सुन र हीरा उद्योगमा पेट्रो नाम दिइएको कृत्रिम मुद्राको प्रयोग गरिनेछ ।

राष्ट्रपति मडुरो अमेरिकी प्रतिबन्धहरुको पनि विपक्षमा उभिएका छन्, जसलाई उनले ’नाकाबन्दी’ भन्दै आएका छन् । आइतवार टेलिभिजनमार्फत गरिएको एउटा घोषणामा मडुरोले नयाँ कृत्रिम मुद्राले ’देशको मौद्रिक सार्वभौमसत्ता, वित्तीय कारोबार र आर्थिक नाकाबन्दीको समस्या लगायतका विषयमा अगाडि बढाउने’ बताए । कृत्रिम मुद्रा बिटक्वाइनमा विश्वव्यापी बढ्दो रुचिका माझ भेनेजुएलाले पछिल्लो कदम चालेको हो । तेलबाट उठ्ने राजश्वमा र विद्यमान मुद्राको भाउमा आइरहेको कमीका कारण भेनेजुएलाको अर्थतन्त्र प्रभावित भएको छ ।

भेनेजुएलामाथि अनुमानित १४० अर्ब विदेशी ऋण छ र, अर्थशास्त्रीहरुका अनुसार मडुरोले देशको ऋणमा पुनर्संरचना गर्न खोजिरहेका बेला पेट्रोमार्फत विदेशी ऋण तिर्ने प्रयास गर्न खोजेको देखिन्छ । विपक्षी सांसदहरुले चाहिँ उक्त योजनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले प्रस्तावित मुद्राका लागि कंग्रेसको समर्थन चाहिनेमा जोड दिएका छन् र कतिपयले योजना कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु