ऐतिहासिक विषयबस्तुमा आधारित तीन दर्शनीय चलचित्रहरु

भियतनामी साहस र वीरताको प्रस्तुती : 1968 टनेल -याट्स

अत्याधुनिक शस्त्रास्त्रले सुसज्जित साम्राज्यवादी अमेरिकी सेना विरुद्ध निशस्त्रप्रायः भियतनामी जनताले लडेको विश्वप्रसिद्ध सुरुङ् युद्धमा आधारित यथार्यपरक सन्तुलित चलचित्र हो – ‘1968 टनेल -याट्स’ ।

सन् १९५९ देखि १९७५ सम्मको दुई दशक लामो युद्धको दौरान दैनिक हत्या, लुट, बलात्कार अनि निरन्तरको हवाई हमलामा लाखौं भियतनामी जनताहरुको कत्लेआम गरिएपनि अमेरिका र उसका पिछलग्गु आक्रमणकारीहरुलाई धुलो चटाउन सफल साहसी तथा वीर भियतनामीहरुले अपनाएको आदिम युद्ध कौशल प्रस्तुत गर्नु यस चलचित्रको विशेषता हो । दक्षिणी भियतनाम स्थित विश्वविख्याात ‘चु ची’ क्षेत्रका वचेखुचेका भियतनामी जनता र स्वयं सेवक मिलिसियाहरु तथा भियत किन्ह सिपाही र ‘स्नाइपर’हरुले जमिनमुनी सुरुङ्भित्रै निर्माण गरेका अनेकौं अस्पताल, आवासगृह, चमेनाघर, सभाहल, हतियारकक्ष लगायतका संरचनाहरुको आडमा जमिनमाथि वमवारी र ‘पेट्रोलिङ’ गर्ने अमेरिकी सेनालाई एकएक गर्दै ढालेको तथ्य विश्वभर पु¥याउँदै यसअघि पि.वि.एस. टेलिभिजन श्रृङ्खला र सि.आई.ए.को स्वार्थानुकूल निर्मित भियतनाम युद्धवारेका एकपक्षीय चलचित्रहरुले छरेका भ्रम हटाउन यो चलचित्र सफल रहेको छ ।

भियतनामी कम्युनिष्ट सत्ताको रक्षा अनि उत्तर–दक्षीण भियतनाम एकीकरणका लागि जीवन मरणको युद्धमा होमिएका भियतनामीहरुको उच्च मनोवल अनि युद्धका हरेक मोर्चावाट आफ्ना सैनिकहरुको शव उठाउनुपेकोमा तीतो पोखिरहेका अमेरिकी सैनिकहरुको कमजोर इच्छाशक्तिको प्रस्तुतीसंगै चलचित्र आरम्भ हुन्छ । पेट्रोलिङको क्रममा एकदिन एउटा सुरुङ्को प्रवेशद्वार फेला पर्छ जहाँ केहि अमेरिकी सैनिकहरु प्रवेश गर्छन् तर जीवित फर्कन सक्दैनन् । उनीहरुले सुरुङ् भित्र विष्फोट गराउने देखि विषालु ग्याँस विसर्जन सम्म गर्छन् । सुरुङ्भित्रै खनिएका धराप, राखिएका भित्ते विष्फोटकहरु, ते¥स्याइएका भाला र घोचाहरु अनि खनिएका भुमिगत पोखरी तथा पानी कोठरी जस्ता अचम्मलाग्दा युद्धसामग्रीका कारण एकपछि अर्को गर्दै थुप्रै अमेरिकी सैनिकहरु मारिन्छन् । सुरुङ् भित्रको अँध्यारो तथा अमेरिकी सैनिकहरुको प्रविष्टिप्रति वेखवर केहि भियतनामी स्वयंसेवकहरु पनि हताहत हुन्छन् । अर्कोतर्फ भियत किन्ह सिपाहीहरु सुरुङ् वाहिर आई अमेरिकी सेनासंग प्रत्यक्ष भीँड्दछन् र सम्पूर्ण क्याम्प नै उडाइदिन्छन् । बचेखुँचेका एकाध अमेरिकी सैनिकहरु हवाई हमलाका लागि अर्को क्याम्पमा सम्पर्क गर्दछन् तर त्यत्तिखेर सम्म काफी ढीला भैसकेको हुन्छ र युद्धमा भियतनामीहरुको सानदार विजय हुन्छ । चलचित्रको अन्त्यमा भने सुरुङ्भित्रै हराएका एक शसस्त्र अमेरिकी सैनिकले निशस्त्र भियतनामी स्वयंसेवक महिलासंग आत्मसमर्पण गरेको र दुवै मिलेर हवाई हमलामा पुरिएको सुरुङ्द्वार खनेको देखाउँदै मैत्री सन्देश देखाइएको छ ।

स्वतन्त्र जर्मन निर्देशक उवे बोलद्वारा निर्देशित यस चलचित्रमा माइकल पारे, विल्सन वेथेल, नेट पार्कर लगायतका कलाकारहरुको अभिनय रहेको छ । करीव ९२ मिनेट लामो यस चलचित्रमा प्रयुक्त अमेरिकी सेनाको भाषाशैली र हिंसाको कारण १८ वर्ष उमेर पुगेका दर्शकहरुको लागि मात्र उपयुक्त भनि निर्धारण गरिएको छ । चलचित्रको छायाँकन, स्वराङ्कन तथा सम्पादन जस्ता प्राविधिक पक्ष समेत उत्कृष्ट छ । कमरेड हो चि मिन्हको कुशल नेतृत्वमा भियतनामी जनताको त्याग र वलिदान अनि वीरताको गौरवगाथा बोकेको यस चलचित्र तपाईंले चाँही नहेर्ने ?

एक पृथक र उद्देश्यपूर्ण कोरियाली चलचित्र : ‘मे एटिन’

तपाईं कोरियाली भाषाका चलचित्रहरुको पारखी हुनुहुन्छ र कोरियाली स्वादको प्रगतिशील चलचित्रको खोजीमा हुनुहुन्छ भने निशन्देह तपाईंको खोजी हो, ‘मे 18’ ।

उत्तर–दक्षीण विभाजन पश्चात उत्तरी कम्युनिस्ट कोरियालाई छाँयामा पार्न अमेरिका र प्रथम विश्वका मुलुकहरुको लगानीमा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुद्वारा निर्मित दक्षिण कोरियाको सक्कली प्रजातन्त्र उजागर गरिएको यस चलचित्रले सन् १९८० मा उर्लेको विद्यार्थी आन्दोलन अनि सशस्त्र नागरिक विद्रोह तथा त्यसलाई दमन गर्न लागु गरिएको ‘मार्शल ल’को कथा बोकेको छ ।

चलचित्रको कथा अनुसार एक ट्याक्सी ड्राइभरको रुपमा मीन ऊ (किम स्याङ क्युङ) आफ्नो एकमात्र जीवित परिवार सदस्य तथा सहोदर भाइ जीन ऊ (ली जून की)को साथमा ग्वाञ्ज्यू शहरमा साधारण जीवनयापन गर्दछन् । आम कोरियालीहरुझैं उनको एक सपना छ, एक सानो घर परिवार अनि सुख शान्तिको । उनी एक स्वास्थ्य परिचारिका सिन ए (ली वो वन) संग प्रेम, अनि भाइ जीन ऊलाई अत्यन्त माया गर्दछन् । तर सामान्य जीवनको त्यो परिवेशमा एकाएक भयानक उथल पुथल आउँछ, जतिखेर तात्कालीन चुन डु ह्वानको सैनिक सरकारको विरुद्ध विद्यार्थीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गर्छन् अनि सैनिकहरु धरपकड र दमनमा उत्रन्छन् ।

विस्तारै सैनिक दमन बढ्दै जान्छ र आन्दोलनरत विद्यार्थीहरुमाथि अन्धाधुन्ध गोली बर्षाइन्छ जसको कारण जीन ऊले ज्यान गुमाउन पुग्छन् । आफ्नै देशका निहत्था नागरिकहरुमाथि गोली बर्षाउने सरकारी कदमको विरोध गर्दै एक भूतपूर्व सैन्य क्याप्टेन हेयोङ् सु (आह्न सुङ की)ले नागरिक सेना गठन गर्दछन् जसमा प्रतिशोधको भावले मीन ऊ पनि सामेल हुन्छन् । उनीहरु निर्भिकतापूर्वक लड्दछन् र ग्वाञ्ज्यूबाट सरकारी सेनालाई धपाउँछन् तर साम्राज्यवादी अमेरिकाको सहयोग प्राप्त सरकारी सेनाले एकदिन मध्यरातमा ग्वाञ्ज्यूमा आक्रमण गरी रक्तपात मच्चाउँछ, जसमा मीन ऊ लगायत हेयोङ् सुको सहादत हुन्छ ।

मुलधारका कोरियन चलचित्रहरु भन्दा फरक र पृथक यस चलचित्रले शैन्यबलको आडमा मच्चाइएको दमन, उत्पीडन र यातना तथा राज्य आतंक विरुद्ध धावा बोलेको छ । १२० मिनेट लामो सत्य घटनामा आधारित यस चलचित्र मार्फत निर्देशक किम जी हुनले ग्वाञ्ज्यू घटनाका मृतकहरुको सम्झना गर्दैै निहत्था आन्दोलनकारीहरुमाथि गोली बर्षाउने सैनिक र सरकारी अधिकारीहरु विरुद्ध कानुनी कारवाहीको आवाज उठाएका छन् । समग्रमा राम्रो प्राविधिक स्तरमा निर्मित यस पृथक र दुर्लभ उद्देश्यपूर्ण प्रगतिशील कोरियाली चलचित्र तपाईंले नहेर्ने ?

द मोटरसाइकल डायरिज : एक दर्शनीय चलचित्र

‘पहिला संसारले तिमीलाई बदलोस् अनि तिमीले संसार बदल्नेछौ ।’ –यो कथन हो स्पेनी भाषको प्रगतिशील चलचित्र ‘द मोटरसाइकल डायरिज’को ।

चलचित्रमा, अर्जेन्टिनामा जन्मिई हुर्केर चिकित्साशास्त्र अध्ययन गरी कुष्ठरोग विशेषज्ञ बनेका युवामा कसरी विश्वक्रान्तिको भाव उजागर हुनपुग्यो भन्ने विषयबस्तु उठान गरिएको छ । विख्यात ब्राजिलियन निर्देशक वाल्टर स्यालेजद्वारा निर्देशित उक्त १२७ मिनेट लामो चलचित्रले तात्कालीन ल्याटिन अमेरिकी मुलुकहरुको सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक परिवेशको चित्रण गर्दै आमूल परिवर्तनको आवाज मुखरित गरिएको छ ।

चलचित्रको कथा अनुसार दुई आत्मीय साथीहरु ‘अर्नेस्टो ग्वेभारा’ (जील गार्सिया बर्नल) र ‘अल्बर्टो ग्रानाडो’ (रोड्रिगो डे ला सेर्ना) चिकित्सकीय स्वयंसेवा गर्दै दक्षिण अमेरिकी प्रायद्वीपको मोटरसाइकल भ्रमणमा निस्कन्छन् । करीब ६ हजार माइलको दुरी एक पुरानो मोटरसाइकलमा पुरा गर्ने दुस्साहसपूर्ण यात्राको दौरान उनीहरु अर्जेन्टिनाबाट चिली अनि पेरु हँदै भेनेज्वेलासम्म पुग्दछन् । पुरानो मोटरसाइकल अक्सर बिग्रिरहेपनि र आर्थिक अभाव खड्किइरहेपनि उनीहरुको यात्रा निरन्तर जारी रहन्छ । आरम्भमा मनोरञ्जनात्मक गतिविधी र प्रेममय भेटघाटमा सिमित यात्राले चिलीको ग्रामीण भेगमा पुगेपछि भने गम्भीर मोड लिन पुग्छ । त्यहाँ स्थानीय कृषकहरुले बर्षौदेखि खनजोत गर्दै आइरहेको जमीन सरकार संरक्षित ठेकेदारहरुले विना मुआब्जा कब्जा जमाई उल्टै कृषकहरुलाई भुमिहीन मजदूरमा परिणत गरेको देखेपछि युवा अर्नेस्टो ग्वेभाराभित्र बिद्रोहको झिल्को सल्कन्छ ।

अझ यात्राकै दौरान पेरु पुग्दा साम्राज्यवादीहरुले विनाश गरेको सभ्यता र गरीब तथा विरामीहरुमाथि हुनेगरेको विभेद देखेपछि उनीभित्रको विद्रोहको झिल्को राँकोमा परिणत हुन्छ अनि भेनेज्वेला पुगेर सहयात्री अल्बर्टोसंग भावपूर्ण विदावारी भई उनी विश्वक्रान्तिको मसाल बाल्न पुग्दछन् ।

केहि व्यापारिक मसलाहरुको प्रयोग गरिएको भएपनि ‘द मोटरसाइकल डायरिज’ एक सार्थक सडक चलचित्र बनेको छ । क्युबाली क्रान्तिपूर्वका चे ग्वेभारालाई जस्ताको तस्तै उतार्न निर्देशक वाल्टर स्यालेज सफल रहेका छन् । विभिन्न ल्याटिन अमेरिकी देशहरुमा छाँयाकन गरिएको सो चलचित्रको छाँयाकन र सम्पादन पक्ष समेत शसक्त रहेको छ । चे ग्वेभाराको रुपमा जील गार्सिया बर्नल र अल्बर्टो ग्रानाडोको भुमिकामा रोड्रिगो डे ला सेर्नाको अभिनय समेत प्रशंसनीय छ । अतिरिक्त सामग्रीको रुपमा कमरेड चे ग्वेभाराकी छोरी ‘अलेइडा ग्वेभारा’ तथा हालसम्म जीवित सहयात्री ‘अल्बर्टो ग्रानाडो’संगको अन्तरवार्ता समेत राखिएको छ । निरुद्देशीय हजारौं चलचित्रहरुको भीडमा उपलव्ध यो चलचित्र दर्शनीय मात्रै नभई संग्रहणीय समेत रहेको अनुभूत हुन्छ ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु