राजनैतिक विषयबस्तुमा आधारित तीनवटा हेर्नैपर्ने चलचित्रहरु

‘चे’ (अर्जेन्टाइन र गुरिल्ला) – एक क्रान्तिकारी मान्छेको जीवनगाथा

विश्वभर र विशेषत ल्याटिन अमेरिकी देशहरुमा थोपरिएको सामाजिक, आर्थिक, राजनैतिक तथा साँस्कृतिक दासत्व, शोषण, उत्पीडन र असमानताको समूल अन्त्यका खातिर शसस्त्र विपुलको नेतृत्व गरेका क्रान्तिनायक अर्नेष्टो ‘चे’ ग्वेभाराको जीवनीमा आधारित चलचित्र हो – ‘चे’ ।

ओस्कर पुरस्कार विजेता अमेरिकी निर्देशक स्टेभेन सोडरवर्गद्वारा निर्देसित यस चलचित्रमा चे ग्वेभाराको भुमिका निर्वाह गरेका छन्, प्युरिको रिटो नामक मध्य अमेरिकी मुलुकका अभिनेता ‘बेनिचियो डोल टोरो’ले । सन् २००८ मा सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र करीब २५६ मिनेट लामो भएकाले दुई भागमा बाडिएको छ जसमध्ये पहिलो भाग (चे : अर्जेन्टाइन)ले चेको सैन्य नेतृत्वमा क्युवाली क्रान्ति सफल भएको र दोश्रो भाग (चे : गुरिल्ला)ले चेको शैन्य नेतृत्वमा बोलिभियामा शसस्त्र बिद्रोहको थालनी भई उनको सहादत भएको घटनाक्रम प्रस्तुत गर्दछ । क्युबाली क्रान्तिको सफलता पश्चात राष्ट्रप्रमुख फिडेल क्यास्ट्रोको बिशेष दूतका रुपमा चेले राष्ट्रसंघ लगायतका बिभिन्न मुलुकहरुका दिएको मन्तब्य र अन्तरवार्ताका श्रब्यदृश्य समेटेर तयार पारिएको यस चलचित्रले चेको जीवनका प्रमुख घटनाहरु र प्रवृत्तिको उजागर गरेको देखिन्छ ।

बिभिन्न मध्य तथा दक्षिण-अमेरिकी देशहरु घुम्दै हिँडेका अर्नेष्टो चे ग्वेभाराले मेक्सिको स्थित मारिया एन्टोनियोको घरमा फिडेल क्यास्ट्रोलाई भेट्न पुग्दछन् जहाँ क्यास्ट्रोले क्युवाली जनताहरुको दयनीय स्थिति र अमेरिकी सहयोगमा भ्रष्ट तानाशाह फुल्जेन्सियो बाटिस्टाले मच्चाएको दमन र अत्याचारबारे उनलाई अवगत गराउँदछन् । लगत्तै करीब ८० जनाको टोली ग्रान्मा नामको सानो पानीजहाज मार्फत क्युबा पुगी बाटिस्टा बिरुद्ध छापामार बिद्रोह सुरु गर्दछ । सामन्ती भू–स्वामित्वका कारण चरम शोषणमा परेका क्युबाली कृषकहरुले बिस्तारै बिद्रोहमा साथ सहयोग बढाउँदै जान्छन् भने शिक्षित तथा अशिक्षित दुबैखाले युवाहरु स्वतः–स्फूर्त रुपमा बिद्रोही सेनामा सामेल हुन आइरहन्छन् । फलतः शसस्त्र बिद्रोहको आकार बढ्दै जान्छ र सरकारी सेना क्रमशः पराजित हुँदै जान्छ । अन्त्यमा तानाशाह बाटिस्टा सत्ता छाड्दै अमेरिका पलायन भएपछि क्युवाली क्रान्ति सम्पन्न हुन्छ र चलचित्रको पहिलो भाग पनि ।

चलचित्रको दोश्रो खण्डको कथा अनुसार क्युबाली मन्त्रीपदबाट राजिनामा दिई ‘चे’ मेक्सिकोबासी आफ्नी श्रीमतीलाई भेट्दै छद्म भेषमा बोलिभिया पुग्दछन् । त्यहाँ बोलिभियन कम्युनिस्ट पार्टीका महासचिवसंग बैचारिक मतभेद राख्दै छापामार युद्ध आरम्भ गर्दछन् । बिभिन्न उतार चढावका बिच बिकास हुँदै गरेको बोलिभियाको शसस्त्र युद्ध दमन गर्न सि.आई.ए. समेतको संलग्नतामा परिचालित बोलिभियन सुरक्षाकर्मीको घेराबन्दीमा परेपछि दोहोरो भीडन्तको दौरान घाइते हुन पुगेका चेलाई पक्राउ गरिन्छ र त्यसको केहि समयपश्चात अन्तराष्ट्रिय मान्यताको खिल्ली उडाउँदै हत्या गरिन्छ ।

समानता र स्वतन्त्रताका निम्ति विश्वक्रान्तिको मसाल बाल्ने महान क्रान्तिकारी योद्धा ‘चे’को सम्पूर्ण जीवनगाथा सवा चार घण्टाको एक चलचित्रमा समेट्न सकिदैनथ्यो नै । चेको जीवनका थुप्रै पाटोहरुमाथि न्याय गर्न नसकेको भएपनि चलचित्र चेले उत्कृष्ट प्रबिधिको बलमा क्रान्तिनायक चेलाई उनका करोडौं प्रशंसकहरुमाझ उभ्याएको छ । नेपाली वजारका सहजै उपलब्ध यस क्रान्तिकारी चलचित्र तपाईंले हेर्नुभयो के ?

द रिभोल्युसन विल नट बी टेलिभाइज्ड : विशिष्ठ एतिहासिक वृत्तचित्र

अमेरिकी गुप्तचर संस्था सि. आई. ए.को योजना र व्यापारिक घरानाद्वारा सञ्चालित पुँजीवादी सञ्चार संस्थाहरुको बलमा भेनेज्वेलाका जननिर्वाचित राष्ट्रपति ह्युगो चाभेजलाई ‘मिडिया कु’ गरिएको बिषयमा बनेको वृत्तचित्र हो ‘द रिभोल्युसन विल नट बी टेलिभाइज्ड’ ।

अप्रिल ११, २००२ मा सुरु भई ४७ घण्टा लम्विएको उक्त असफल ‘मिडिया कु’ को दौरान राष्ट्रपति चाभेजलाई अपहरण गरी बेपत्ता बनाउँदै भेनेज्वेलन उद्योग बाणिज्य महासंघ प्रमुख पेड्रो कार्लोसलाई अन्तरिम राष्ट्रपति घोषित गरियो र राष्ट्रिय सभा, निर्वाचन आयोग, महान्यायधिवक्ता, केन्द्रीय बैंक तथा सर्वोच्च अदालत लगायतका निकायका प्रमुखहरु बर्खास्त गरिए । चाभेजद्वारा सन् १९९९ मा जारी तथा दुई तिहाइ बढी (७१ प्रतिशत) जनमतद्वारा अनुमोदित जनसंबिधान निस्क्रिय पार्दै षड्यन्त्रपूर्वक मच्चाइएको उक्त कु को मुख्य मतियार चाभेज बिरोधी पुँजिवादी मिडियाहरु थिए जसका गलत अतिसयोक्तिपूर्ण र पक्षपाती सुचना, समाचार र बिचार प्रवाहको सहयोगमा सि.आई.ए. पालित पूर्व पेट्रोलियम अधिकारीहरु तथा उच्च ब्यापारीहरुले कु मच्चाएका थिए । आकस्मिक कु लगत्तै अन्यौलमा परेका भेनेज्वेलनहरु दुई दिनभन्दा बढी अवधीसम्म आफ्ना आधिकारिक राष्ट्रपतिबारे बेखबर मात्रै भएनन्, चाभेजले राजिनामा दिइसके भन्ने झूठो समाचारको समेत सिकार भए । कार्मोनाको अन्तरिम सरकारलाई अमेरिका र स्पेनले तुरुन्तै मान्यता दिएपनि ल्याटिन अमेरिकी देशहरुले भने पहिचान गरेनन् । अन्ततः व्यापक जनदवाव तथा चाभेजप्रति वफादार ‘प्रेसिडेन्सियल गार्डस्’का सैनिकहरुको हस्तक्षेपका कारण कु अन्त्य भयो र मारिनै आँटिएका चाभेज पुनः राष्ट्रपति भवन फर्काइए ।

कु भइरहेको त्यो समयमा आइरिस निर्देशक ‘किम बर्टली’ तथा छाँयाकार ‘डोनाचा ओब्रिर’को वृत्तचित्र निर्माण टोली संयोगवस् भेनेज्वेलाको राजधानी काराकासस्थित राष्ट्रपति भवन ‘मिराफ्लोर्स’ भित्रै उपस्थित थियो जसले तात्कालीन पलपलका श्रव्यदृश्य छायाँकन गर्ने दुर्लभ अवसर प्राप्त ग¥यो । युरोप, अमेरिका लगायत विश्वभर लोकप्रीय भइरहेका चाभेजका बारेमा सत्य तथ्य वृत्तचित्र निर्माण गर्ने उद्देश्यसहित भेनेज्वेला पुगेको उक्त टोलीले आफ्नो अभीष्ट भन्दा बिल्कुल भिन्न वृत्तचित्र ‘द रिभोल्युसन विल नट बी टेलिभाइज्ड’ तयार पा¥यो जसले थुप्रै सम्मान र पुरस्कारहरु प्राप्त गरेको छ ।

विश्वकै सबैभन्दा छोटो अवधीको भनी दावी गरिने उक्त कु को सन्दर्भमा वृत्तचित्रले आफूलाई स्वतन्त्र र मुलधारको सञ्चारगृह बताउने पुँजीवादी ब्यापारिक टेलिभिजन प्रसारण केन्द्रहरुको घीनलाग्दो सूचना सम्प्रेषण तथा राजनैतिक पक्षपातको भण्डाफोर गरेको छ । स्पेनी र अंग्रेजी भाषाको मिश्रणबिच तयार पारिएको उक्त वृत्तचित्रले साम्राज्यवाद र उसका दलालहरुको अनेकन तिगडमका बिचसमेत क्रान्तिको फूल फुलेरै छाड्ने शन्देस छोडेको छ । बोलिभारियन क्रान्तिका प्रणेता तथा जनप्रीय राष्ट्रपति ह्युगो चाभेज विरुद्ध कु गरिँदा भेनेज्वेलाका गरीब र बिपन्न बर्गले गरेको जीवन मरणको संघर्ष र त्यस दौरान प्रतिक्रियावादीहरुले अपनाएका बिभिन्न हर्कतहरुको सजीव र प्रत्यक्ष छाँयाकन समेटेको यस ऐतिहासिक वृत्तचित्रले पुनः एकपटक साम्राज्यवाद र गोयबल्सवादलाई कागजी बाघको रुपमा प्रमाणित गरेको छ । आम अन्तराष्ट्रियतावादी र समाजवादीहरुका अलावा मिडिया स्वतन्त्रताको नाउँमा सही, सत्य र सन्तुलित सामग्री पेश गर्नुपर्ने आचार संहिता बिर्सेर एकपक्षीय बिषवमन गर्दै भ्रामक समाचार र विचारको खेती गरी जनताको आँखामा छारो हाल्न खोज्ने देशविदेशका कयौं सञ्चार गृहहरुले एकपटक यस वृत्तचित्र हेरुन् ।

साम्राज्यवाद विरोधी वृत्तचित्र : अ वार अन डेमोक्रेसी

प्रथम विश्वको नेतृत्व गर्दै संसारभर प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गराउने निहुँमा अमेरिकी सरकारले थोपरेको युद्ध र प्रताडनाको यथार्थ कथा हो वृत्तचित्र ‘द वार अन डेमोक्रेसी’ ।

सम्मानित ‘बाफ्टा (ब्रिटिस एकेडमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्) पुरस्कार’ विजेता अस्ट्रेलियन मुलका बेलायती पत्रकार जोह्न पिल्गरद्वारा मध्य तथा ल्याटिन अमेरिकी मुलुकहरुको भ्रमण पश्चात प्रस्तुत गरिएको यस वृत्तचित्रले अमेरिकाको वास्तविक प्रजातन्त्रको पर्दाफास गरेको छ । कथित राष्ट्रिय सुरक्षाको वहानामा सार्वभौम मुलुकहरुमाथि लादिएको अनैतिक युद्ध तथा हस्तक्षेपकारी राजनितीको लामो फेहरिस्ता तयार पार्दै पिल्गर भन्दछन्, ‘प्रजातन्त्रको नाउँमा अप्रजातान्त्रिक युद्ध किन ?’

वृत्तचित्रको कथ्य सिलसिला भेनेज्वेलाबाट आरम्भ हुन्छ जहाँ पिल्गर राजधानी काराकास लगायतका विभिन्न क्षेत्रमा पुगी परिवर्तित भेनेज्वेलाको अवलोकन गर्दछन् । वर्तमान राष्ट्रपति ह्युगो चाभेज निर्वाचित हुनुपूर्वका सरकारहरुको पालामा आफूलाई उपेक्षित महसुस गरेका विपन्न तथा निम्न मध्यम वर्गका मानिसहरुको जीवनमा चाभेज निर्वाचित भएपश्चात आएका अनेकौं सकारात्मक परिवर्तनहरुको अनुभूति संकलन गरी उनी चाभेजलाई भेट्न पुग्दछन् । राष्ट्रपतित्वकालीन आरम्भीक दिनहरुमै अमेरिकी गुप्तचर निकायको प्रत्यक्ष नेतृत्व र पुँजिवादी मिडियाको सहयोगमा अपहरण गरी अपदस्त समेत गरिएकोमा लाखौं भेनेज्वेलनहरुको प्रदर्शनका कारण पुनर्वहाली भएका चाभेजको विचारोत्तेजक अन्तरवार्ता यस वृत्तचित्रको विशेष पक्ष हो ।

ल्याटिन अमेरिकी देशहरुमाथि साम्राज्यवादी वर्वरता अवलोकन गर्न पिल्गर भेनेज्वेलाबाट चिली पुग्दछन् जहाँ अमेरिकी योजना र सहयोगमा सैनिक तानाशाह अगस्टो पिनोसेले शासन हत्याएका थिए । अमेरिकामा तालिम लिएका प्रशासकहरुले पिनोसेको शासनकालमा मच्चाएको निर्मम दमन, हत्या र यातनाको संस्मरण सुन्दा उनलाई अमेरिकी शासकहरु खुनी लाग्दछ र प्रश्न गर्छन्, ‘प्रजातन्त्रको बाटो यस्तै हुन्छ ?’
अमेरिकी ताण्डव अवलोकन गर्ने क्रममा पिल्गर एल साल्भाडोर देखि निकारागुआ अनि ग्वाटेमालादेखि बोलिभियासम्म पुग्दछन् । जहाँ पुगेपनि एउटै दृश्य अनि हरेकमा अमेरिका विरोधी एउटै भाव पाएका पिल्गरलाई सबैले भोग्नुपरेको साम्राज्यवादी पीडा उस्तै लाग्छ । निशस्त्र साल्भाडोरियन किसानहरुको कत्लेआम तथा ग्वाटेमालाका हज्जारौं गाउँलेहरुको हत्या मात्रै होइन, मध्य अमेरिकी सानो कमजोर मुलुक निकारागुआमाथि प्रत्यक्ष सैनिक हमला जस्ता अपराधमा उच्च अमेरिकी अधिकारी र नेताहरुलाई दोषी पाउँछन् उनी । त्यहाँ अमेरिकी स्वार्थ अनुसार चल्न नचाहने जननिर्वाचित सरकार प्रमुखलाई सत्ताच्युत गरेर कपडा खोल्न लगाई बेइज्जत गर्न समेत पछि नपरेका अमेरिकी अधिकारीहरुकै योजना र नेतृत्वमा बोलिभियाका आदिवासीहरुमाथि चरम शोषण तथा उत्पीडन मच्चाइएको उनलाई ज्ञात हुन्छ । अनि एक स्वतन्त्र पत्रकारको हृदयमा विद्रोह जन्मन्छ, ‘साम्राज्यवादी हस्तक्षेपको अन्त्य गर ।’

करीब ९४ मिनेट लामो यस वृत्तचित्रले कथित प्रजातान्त्रिक युद्धका पीडितहरुको मात्रै होइन, उच्च अमेरिकी अधिकारी तथा युद्धकालीन सि.आई.ए. र सरकार प्रमुखहरुको अन्तरवार्ता र भनाई समेटेको छ जहाँ उनीहरु या त अनुत्तरित छन् या सफेद झूठ बोल्न बाध्य । वृत्तचित्रले साम्राज्यवादी युद्ध तथा हस्तक्षेपका दुर्लभ श्रव्यदृश्य अनि सि.आई.ए.का अति गोप्य प्रतिवेदनहरु समेत सार्वजनिक गरेको छ । नेपाली बजारका समेत उपलब्ध ‘द वार अन डेमोक्रेसी’ हरेक देशभक्त तथा साम्राज्यवाद विस्तारवाद विरोधी नेपालीले हेर्नैपर्ने एक महत्वपूर्ण सामग्री हो ।

यसमा तपाइको अभिमत

सम्बन्धित शीर्षकहरु